काठमाडौं – नाबालिगमाथि बलात्कारको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको छ।

लामिछाने सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न लागेको हो। उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ११ दिन भइसक्यो। अदालतले भदौ २३ गते उनलाई पक्राउ गर्न अनुमति दिएको थियो।

तर लामिछाने अझै पक्राउ परेका छैनन्। उनी प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) दुवैको सम्पर्कमा छैनन्।यसो हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंले इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको एक प्रहरी अधिकारीले बताए।

प्रहरीले सन्दीप नेपाल नफर्किए औपचारिक वा अनौपचारिक माध्यमको प्रयोग गरी पक्राउ गर्ने बताएको थियो। अहिले उनी कुन देशमा छन् भन्ने खुलेको छैन। यसअघि उनी दुबईमा हुनसक्ने भन्दै प्रहरीले अनुमान पनि गरेको थियो। तर उक्त कुरा पुष्टि हुन सकेको छैन।

इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रियामा जाँदा सुरूमा कुन प्रकृतिको अपराध हो भन्ने छुट्याइने प्रहरीका निमित्त केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए। इन्टरपोलले रेड, ब्लु, एल्लो, ब्ल्याक, पर्पललगायत रंगअनुसार अपराधको वर्गीकरण गरेको छ। बलात्कार, हत्याजस्तो जघन्य अपराधको मुद्दामा इन्टरपोलबाट रेड कर्नर जारी गरिन्छ।

यसबारेमा अदालतको पनि आदेश चाहिने उनले बताए। अनुसन्धान गर्दै जाँदा अनुसन्धान अधिकृतको आवश्यकता भएमा अदालतको आदेशपछि इन्टरपोलबाट पक्राउ गर्न सकिने उनको भनाइ छ। फरार भएको यति नै दिनमा पक्राउ गर्नुपर्ने भन्ने नभएको उनले बताए।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो।भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय