• अजय साह

जनकपुरधाम— प्रहरीले महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी सुजिता ठाकुरको हत्या आरोपमा चार जनालाई सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा मृतक सुजिताका देवर २९ वर्षीय रुपेश ठाकुर, स्थानीय ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राईन र ३२ वर्षीय नथुनि मण्डल छन्।

महोत्तरी प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी अभियुक्तलाई सार्वजनिक गरेको छ। सुजिताको गाडिएको अवस्थामा दुई दिन पहिले भेटिएको थियो।

महोत्तरीका प्रहरी प्रमुख उपरीक्षक दिनेश आचार्यले पक्राउ परेका बण्ठा, मुल्ला र नथुनिले शव ओसारपसार गरी गाड्न सहयोग गरेकोले पक्राउ गरिएको जानकारी दिए। घटनाबारे अनुसन्धान पूरा नभएको उनले जानकारी दिए।

प्रहरीले घटनालगत्तै तत्काल मृतकका श्रीमान् मुकेश ठाकुरलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उनको संलग्नता नदेखिएकोले थुनामुक्त गरिएको प्रहरीले जनाएको छ।

डिएसपी प्रकाश विष्टका अनुसार पक्राउ परेका बण्ठा भन्ने किशोरी मण्डल, मुल्ला भन्ने आदम राइन र नथुनी मण्डलले सुजिताको शव ओसारपसार तथा गाड्न तथा शवलाई स्थानान्तरण गर्ने कार्यमा सहयोग पुर्‍याएका थिए।

यसरी गरिएको थियो सुजिताको हत्या

गत जेठ २० गते विहान करिब ८–९ बजेको बीचमा देवर रुपेश ठाकुरले सुजिता देवी ठाकुरको कोठा भित्र प्रवेश गरी घाँटीमा मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोकाई घाँटीसमेत थिची हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

हत्या गरी दिनभरि शवलाई सुजिता सुत्ने पलङमा छोपेर कोठा बाहिरबाट ताल्चा लगाइराखेको र सोही दिन साँझ निजका ससुरा पतिराम ठाकुरको घरदेखि करिब १ किलोमिटर दक्षिणमा रहेको खेतमा खाल्टो खनी राति साढे ८ देखि ९ बजेसम्म आफ्नै ट्याक्टरमा मृतकको शव राखी खेतसम्म पुर्‍याई गाडेर भोलिपल्ट जेठ २१ गते शव गाडेको खेतमा खाल्टो वरिपरिका भागमा पानी भरी ट्याक्टरले सम्याई धानको बीउ छरिएको थियो।

पछि शव गाडेको सम्बन्धमा हल्ला भएपछि उनीहरूले जेठ २० गते राति गाडेको शवलाई जेठ २९ गते मध्यराति पुनः खनेर निकाली पतिराम ठाकुरकै घरदेखि अन्दाजी ५०० मिटर पूर्वतर्फको निर्माणाधीन पेट्रोलपम्पसँग जोडिएको निजकै काठका गोलियाहरू राख्ने चिरान गोदामको जग्गाको उत्तरतर्फको भागमा रहेको निर्माणाधीन सेफ्टिक ट्याङ्कीमा ४ फिट गहिरो खाडल खनी शव पुनः गाडी ६ इन्च मोटो ढलान गरी माथिल्लो भागमा मसला (सपेता) का काठका गोलियाहरू राखी सेफ्टिक ट्याङकी बाहिरबाट अरूले नदेखिने गरी ढाकिएको थियो।

जेठ २९ गते शव स्थानान्तरणपश्चात् शव गाडिएको पहिलेको स्थानमा (खेतमा) भोलिपल्ट जेठ ३० गते पुनः खाल्टो वरिपरिको भागमा पानी भरी ट्याक्टरले सम्याइ धानको बिउ छरिएको थियो।

यसरी पत्ता लाग्यो हत्याको रहस्य

जेठ २० गते छोरी हराएको भन्ने खालको बेहोराको निवेदन प्रहरीसमझ सुजिताकी आमा सुनिता पाण्डेले  निवेदन दिएकी थिइन्। तर प्रहरीले सुरुमा खासै चासो नदेखाएको पीडित परिवारको आरोप छ।

लामो समयदेखि बेपत्ता सुजिताको दाइजोकै कारणले परिवारले हत्या गरेर शव गायब गरेको माइती पक्षले आरोप लगाउँदै आएको थियो। यद्यपि घर पक्षले सुजिता अर्कै केटासँग भागेको बताउँदै आएको थियो।

महोत्तरी भमरपुराकी सुजिता ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन्।

सुजिताका बुवा कामेश्वर पाण्डेले छोरी बेपत्ता भएको र हत्या आशंका गर्दै खोजिदिन भन्दै उजुरी दिन जाँदा जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न नमानेको बताए। बुवा कामेश्वरले भने, ‘प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि महिला सेलमा निवेदन दिएर आएँ।’ उनले तर प्रहरीले चासो लिएर अनुसन्धान नगरेको गुनासो गरे।

यसैबीच वैदेशिक रोजगारीको सिलसिलामा साउदी रहेको सुजिताका भाइ जितेन्द्र पाण्डेले सामाजिक संजालमार्फत यस घटना उजागर गर्दै घर पक्षले नै दिदीको हत्या गरी आफ्नै खेतमा गाडेको आरोप लगाए। सुजिताका पाँच वर्षीय छोराको एउटा भिडियो पनि सार्वजनिक गरियो। त्यो भिडियोमा ती बालकले आमाको हत्या काका र हजुरबुवाले गरेको बताएका छन्।

प्रहरीले सुजिताको खोजतलासमा कुनै चासो नदिएपछि साउदीबाट नै भाइ जितेन्द्रले जनकपुरका चर्चित सामाजिक अभियन्ता सरोज रायलाई सहयोगका लागि आग्रह गरेका थिए।

सरोज राय त्यही अभियन्ता हुन्, जसले साउदीमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवलाई ब्लड मनि व्यवस्थापन गरी नेपाल फर्काउन सफल भएका थिए।

अभियन्ता रायले घटनाबारे थप बुझ्न असार ११ गते सुजिताका माइती रतौली गाउँ पुगेका थिए। उनले सुजिताका बुवा कामेश्वर, आमा र दुई कान्छा भाइ आकाश र शिवमलाई भेटेर घटनाबारे जानकारी लिएका थिए।

त्यसपछि असार १२ गते अभियन्ता रायले प्रदेश न. २ का आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई भेटेका थिए। यस घटनाबारे ध्यानाकर्षण गराए। अभियन्ता रायले यस घटनाको उठान गरेपछि प्रहरी पनि खोजी गर्न बाध्य भएको थियो। असार १२ गते केही प्रहरी आएर पीडित पक्षले लगाएको बताए अनुसार सुजिताको शव गाडेको ठाउँको निरीक्षण गरेको थियो।

घटनाबारे सुजिताको बुवा कामेश्वर पाण्डेले दिएको जानकारी उनकै भाषामा जस्ताको त्यस्तै 

घटना जेठ २० गते को हो। बिहान करिब आठ बजे सुजिताले मलाई फोन गरेर कस्तो घरमा बिहे गराइदिएको भनेर रिस पोखेकी थिइन्। फोनमा कुरा भइरहँदा पछाडिबाट झगडाको पनि आवाज आइराखेको थियो। केही बेरपछि सुजिताको देवर रुपेश ठाकुरले पनि फोन गरेर मलाई तुरुन्त भमरपुरा आउन भन्यो।

म जाने तरखर मै थिएँ कि फेरि रुपेशको फोन आयो र उनले आउनु पर्दैन झगडा शान्त भयो भन्यो। त्यस दिन सुजितासँग भेट्न हामी कोही गएनौं। भोलिपल्ट सुजिताको मोबाइलमा पटक पटक फोन गर्दा स्विच अफ भनि रह्यो। पछि देवर रुपेशको मोबाइलमा फोन गर्दा पनि उनले उठाएनन्। आधी घण्टापछि रुपेशले आफैं फोन गरेर सुजीताले कोठामा ताल्चा लगाई घर छोडेर भागेको जानकारी दियो।

तर रातिसम्म पनि छोरीसँग कुरा नभएपछि अर्को दिन बिहान ८ बजे सुजिताको हामी बुढाबुढी (सुजिताका बुवा र आमा) भमरपुरा पुग्यौं। रतौलीबाट भमरपुरा मोटर बाटो नजिकै भएकोले दश मिनेटमा पुग्यौं। सुजिताको कोठामा लागेको ताल्चा फोड्न लगाएँ। सुजिताको कपडादेखि सबै समान यथावत थियो। दराजमा गरगहना पनि यथावत् देखें अनि मलाई मनमा शंका जन्मिन थाल्यो। तर घरपक्षले लगातार सुजिता घर छोडेर अर्कै केटासँग भागेको मात्र भनिराखे।

१० वर्ष पहिला सुजिताको बिहे पतिराम ठाकुरको जेठा छोरा मुकेशसँग भएको थियो। यस अगाडि करिब १४–१५ महिना पहिले सुजितालाई ससुरा, सासू, श्रीमान् र देवर सबैजना मिलेर कुटपिट गर्दा सुजिताको आँखामा चोट लागेको थियो। उपचारपछि जलेश्वर अस्पतालमा गराएर प्रहरीमा समेतमा उनले निवेदनसमेत दिएकी थिइन्। पछि श्रीमान् र देवरले आइन्दा कुटपिट नगर्ने लिखित शर्त गरेर प्रहरीले छोडेको थियो।

सुजिताका बुवा कामेश्वर पाण्डे थप्छन् :

त्यही बीचमा सुजिताको चिनजान कतारमा कार्यरत पिपरा गाउँपालिका अलिपट्टी निवासी विजय मुखियासँग सामाजिक संजालमार्फत भएको थियो। बीचबीचमा विजयसँग सुजिताको कुराकानी फोनमार्फत भइरहन्थ्यो। चार–पाँच महिना पहिला विजय कतारबाट गाउँ फर्केका थिए। सुजिता आफ्नो माइती आउँदा विजयसँग एकपल्ट भेटघाट पनि भएको थियो।

घटनाको एक दिन अगाडि मात्र सुजिता आफ्नी आमासँग जनकपुर किनमेल गर्न गएकी थिइन् तर घरमा कुनै पनि विवादबारे चर्चा गरिनन्।

बारम्बार घर पक्षले विजयसँग भागेको आरोप लगाएपछि सुजिताको बुवाले नै प्रहरीमा निवेदन दिएर विजयलाई पक्राउ गर्न लगाए तर दिनभरिको सोधपुछपछि विजयलाई सात दिनसम्म गाउँ नछोड्ने सर्तमा रिहा गरिएको थियो। त्यसपछि माइती पक्षको शंका झन् गहिरो हुन् थालेको थियो।

घटना भएकै दिन सुजिताका ९ वर्षीय छोरी आँचल र ५ वर्षीय छोरा रौनक दुवैलाई घर पक्षले जनकपुर बस्दै आएका फुपू अन्जु ठाकुर कहाँ पठाइदिएका थिए। र अर्को दिन फेरि फर्काएर ल्याएका थिए। घटनाको केही दिनपछि सुजिताको छोरा रौनक रतौली आएका थिए।

सुजिताको आमा र छोरा रौनकले आपसमा कुरा गरेको एक भिडियो भाइ जितेन्द्रले सार्वजनिक गरे। जसमा रौनकले आमालाई मारेको, जिउमा टेप बाँधेर घाँटी रेटेको, शवलाई फ्रिजमा राखेको पोल खोलेका छन्।

यो भिडियो जितेन्द्रले फेसबुकमा राखेपछि ससुराली पक्षमा चिसो पस्न सुरु भयो।

त्यही बीचमा कसैले फोनबाट सुजिताका बुवालाई जानकारी गराएका थिए। घर पक्षले आफ्नो खेतमा ७–८ फिट गहिरो खाल्डो खनेको थियो, जो अहिले माटोले पुरेर माथिबाट धानको बिउ छरेर छोपिएको छ। सुजिताको शव त्यहीँ गाडिएको थियो।

यता सुजिताका भाइ जितेन्द्रले लगातार सामाजिक संजालमा सबै कुरा पोस्ट गरिराखेका थिए। जसबाट ससुराली पक्ष पनि त्रसित भइसकेका थिए।

त्यसपछि सुजिताका ससुरा पतिरामले कुरा मिलाउन कामेश्वरलाई बारम्बार दवाब दिन थालेका थिए। ‘जाने गइसक्यो, अब नाति–नातिनीको जीवन बनाउनुस्’ भनेर कामेश्वरलाई मनाउन पतिरामले पटकपटक प्रयास गरेका सुजिताका बुवा पाण्डे बताउँछन्।

त्यही बीचमा जितेन्द्र र रुपेशबीच फोनमा कुराकानी पनि भयो। जसमा जितेन्द्रले दिदीको अन्तिम संस्कार जसरी पनि गर्नुपर्छ। त्यसैले शवलाई गाडेको ठाउँबाट निकाल्न रुपेशलाई अनुरोध गरेका र रुपेशले यस्तो अवस्थामा शवलाई निकाले झन् बबाल हुन्छ भन्दै गरेको सुन्न पाइन्छ।

दिदीको हत्या नै भएको प्रमाणहरू अगाडि आउन थालेपछि जितेन्द्रले साउदीबाट नै बुवालाई दिदीका ससुरा पतिरामलाई कुनै दबाबमा नआई प्रहरीमा मुद्दा दर्ता गर्न बारम्बार भनेका थिए।

असार ७ गते माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन गएका पनि थिए। तर एसपीले दर्ता गर्न मानेनन्, हार मानेर महिला सेलमा निवेदन दिएर फर्के। जबकि एसपीलाई सबै प्रमाणबारे जानकारी गराउँदा पनि चासोको साथ अनुसन्धान नभएको आरोप पीडित पक्षको छ।

यसैबीच सुजिता ठाकुरको हत्या भएको भनिएको विषयमा मधेसी आयोगले समेत चासो लियो। आयोग अध्यक्ष डा. विजयकुमार दत्तले आयोगमा दर्ता भएको उजुरीका विषयमा आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए।

अध्यक्ष दत्तले घटनाका विषयमा महोत्तरीका प्रहरी प्रमुखलाई टेलिफोन सम्पर्क गरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन निर्देशन दिएका थिए।

घटनालाई मधेसी आयोग र राष्ट्रिय महिला आयोगले गम्भीरतापूर्वक लिएर सँगै सहकार्य गरी अगाडि बढे। अनि बल्ल प्रहरीले शव गाडिएको ठाउँको उत्खनन गरे।

यसरी विभिन्न ठाउँबाट प्रहरीलाई दबाब र घटनाबारे प्रमाणहरू बाहिर आउन थालेपछि प्रहरीले असार १३ गते बल्ल शव गाडिएको ठाउँको उत्खनन गरे।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले सुजिताको ससुरा पतिराम ठाकुरको घरदेखि करिब १ किमि दक्षिण रहेको धानको बिउ छरी उम्रिएको खेतको उत्तर–पूर्व कुनामा ५ फिट लम्बाइ र ३.५ फिट गहिरो खाल्टो खनेर हेरेको थियो।

जहाँ नुनजस्तो पदार्थ तथा माटो लागेको तन्ना र पर्दाका कपडा भेटिएको थियो। खाल्डोभित्र कुनै अंग नरही महिलाको कपालजस्तो देखिने चिजबस्तुको भाग फेला परेको थियो। सोही चिज कानुनी रीतपूर्वक मुचुल्का खडा गरी संकलन गरी थप परीक्षणका लागि प्रहरीले केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको थियो।

फेला परेको सो चिजमध्ये कपालजस्तो देखिने बस्तु संकलन गरी परीक्षणका लागि राखिएको र सुजिताका बुवा कामेश्वर पाण्डे र आमा सुनिता देवीबाट डिएनए परीक्षणका लागि आवश्यक रगत संकलन गरी परीक्षणका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाइएको थियो।

प्रहरी अनुसन्धानकै क्रममा सोधपुछ गर्दा खुल्न आएका जानकारीहरूलाई मध्यनजर गरी असार २६ गते राति करिब ११ बजे परिचालित प्रहरी टोलीले सोही मध्यराति १ बजेको समयदेखि निरन्तर उत्खनन् गरेका थिए।

बेपत्ता सुजिताको ससुरा पतिराम ठाकुरको आफ्नो घरदेखि अन्दाजी ५०० मिटर पूर्वतर्फ निर्माणाधीन पेट्रोलपम्पसँग जोडिएका काठका गोलियाहरू राख्ने चिरान गोदामको जग्गाको उत्तरतर्फ सबैभन्दा पछिल्लो भागमा निर्माणाधीन ९ फिटको गहिराइ, १३ फिट ७ इन्च लम्बाइ र ५ फिट ९ इन्च चौडाइ भएको सेफ्टिक ट्यांकीभित्र भुइँमा करिब ६ इन्च बाक्लो ढलान गरी सोभन्दा मुनि करिब ४ फिट गहिरो खाडल खनि जुटको बोरामा सुजिताको शव फेला पारिएको थियो। गाडिएको अवस्थामा असार २७ गते बिहान १० बजे आधा सडेको अवस्थामा उनको शव भेटिएको थियो।

मृतकको बाँकी कपाल, शरीरमा रहेको कपडा तथा शारीरिक बनोटले उक्त शव सुजिताकै रहेको भनेर तत्काल उक्त स्थानमै मृतकका बुवा कामेश्वर र आमा सुनितादेवीले सनाखत गरेका थिए।

उत्खनन क्रममा प्रादेशिक अस्पताल जनकपुरका  फोरेन्सिक एक्सपर्ट डाक्टर समेतलाई सोही स्थलमा झिकाई अवलोकन गराइएको थियो।

उक्त शवलाई शव परीक्षणका लागि असार २७ गते प्रादेशिक अस्पताल, जनकपुर पठाइएको थियो। सोही दिन शव परीक्षण गरी आफन्तहरूले सदगदका लागि जिम्मा लिएका थिए।

सुजिताको दाहसंस्कार : श्रीमानले दिए दागबत्ती

महोत्तरीको लोहरपट्टी नगरपालिका-७ भ्रमरपुराकी हत्या भएको एक महिनापछि शव फेला परेको २७ वर्षीया सुजितालाई असार २८ गते राति अन्तिम संस्कार गरिएको छ।

शव गाडिएको जग्गामै दाहसंस्कार गरिएको छ। दागबत्ती श्रीमान मुकेश ठाकुरले दिए। उनलाई पनि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। तर हत्यामा संलग्नता नदेखिएपछि मुकेशलाई थुनामुक्त गरी निजको ससुरा तथा मृतकको बुबा कामेश्वर पाण्डेको जिम्मा लगाइएको छ।

सुजिताको हत्या गरेको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी असार २१ गते दर्ता गराएका थिए।

साभारः थाहाखबर डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय