काठमाडौं ।स्कुल कुनै पनि विद्यार्थीको दोश्रो घर हुन्छ । तर कहिलेकाँही यस्ता घटना बाहिर आउँछन्, जसले सबैलाई हैरान बनाउँछ । यसबीच शिक्षकको कुटाइबाट विद्यार्थीको कानको जाली फुटेको खबर बाहिर आएको हो ।

पश्चिम नवलपरासी सदरमुकाम परासीस्थित एक निजी विद्यालयमा शिक्षकको कुटाइबाट विद्यार्थीको कानको जाली फुटेको छ । आफूले दिएको गृहकार्य नगरेको भन्दै शिक्षकले विद्यार्थी पिटेका हुन् । त्यहाँको रामग्राम नगरपालिका–४ बैरिहवास्थित पर्ने निजी विद्यालय हिलेरियस चिल्ड्रेन एकेडमीका शिक्षक आलम सिद्धकीले कुट्दा विद्यार्थीको जाली फुटेको छ ।

जानकारी अनुसार कक्षा ५ मा अध्ययनरत बालक निखिल कोहारलाई कक्षाकोठामा ती शिक्षकले पिट्दा कानको जाली फुटेको थियो । बालकलाई अस्पताल भर्ना गरिएको बालकका बुवा गङ्गाप्रसाद कहारले जानकारी गराउनुभयो ।

जानकारी अनुसार करिब एक महिना पहिले कक्षा ५ मा अध्यनरत १२ वर्षीय बालक कोहारलाई शिक्षक सिद्धकीले कानमा लाग्नेगरी चार झापड हिर्काएका थिए ।

त्यसपछि बालकको कानबाट रगत समेत आएको थियो । बालकलाई शिक्षकले पिटेर कानबाट रगत आएको खबर पाएपछि बालकका बुवा गङ्गाप्रसाद कोहार विद्यालय पुगेर छोरालाई घर ल्याएर आउनुभयो ।

बुवाका अनुसार विद्यालय प्रशासनले बालकको कानबाट रगत आउँदा सामान्य उपचार पनि नगरी बालकलाई दिनभरि विद्यालयमा राखेको थियो । सामान्य होला भन्दै स्थानीय मेडिकलमा उपचार गराउँदा बालकको कानमा चर्को दुखाइ र रगत पिप आउने समस्या रोकिएन् । त्यसपछि बालकलाई बुधवार बुटवलस्थित तिनाहुँ इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको छ ।

शिक्षकको पिटाइबाट घाइते भएको बालकको बायाँतर्फको कानको जाली फुटेको चिकित्सकले बताएका छन् । यता, विद्यालय प्रशासनले कोहार परिवारका चार जना बालबालिकालाई विद्यालयबाट निस्कासन गरेको पीडितको गुनासो छ । तर विद्यालयबाट कुनै पनि विद्यार्थीलाई ननिकालिएको हिलेरियस चिल्ड्रेन एकेडमीले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय