ढल्केवर— नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादीका स्थायी समिति सदस्य शत्रुधन महतोले धनुषाको मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले हरेक बजेटमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

शनिवार मिथिला नगरपालिका वडा नं ६ ढल्केवरमा आयोजित वडा भेलालाई सम्बोधन गर्दै उनले हरेक बजेटमा यहाँका मेयरले भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।

‘यहाँ हरेक बजेटमा भ्रष्टाचार भएको छ । आफै मेयर, आफ्नै गाडी र छोरा ठेकेदार छन् । यस्तो पनि संसारमा हुन्छ ? मेयरलाई संकेत गर्दै नेता महतोले भने, ‘यस्तालाई जनताले किन भोट दिन्छ ?’

आफूले पटक पटक योजना दिएर ढल्केवरमा उभिने ठाउँ बनाएको उनले दावी गरे । ‘यदि हामीले दिएको योजना ढल्केवरमा लागू नभएको भए अझै कलंकको टिका लाग्ने थियो,’ महतोले भने ।

ट्रमा सेन्टर ढल्केवरमै बनाऔं

सम्बोधनको क्रममा नेता महतोले मिथिला नगरपालिकामा पछिल्लो समय विवादको केन्द्र बनेको ट्रमा सेन्टर ढल्केवरमै बन्नुपर्ने उल्लेख गरे । जग्गा बहाना मात्र भएको उनको कथन थियो ।

‘यहाँ जग्गा छैन भनेर कसले भन्यो ? म त यहाँ अनेक तिर जग्गा देख्छु । बजेट पनि यहीको लागि विनियोजन भएको छ । त्यसको लागि जग्गा जमिन तयार छ । नेता महतोले भने, ‘मेयर झुठको खेती गरेर जनतामा भ्रम सिर्जना गरिरहेको छ । ढल्केवरको निर्णय हो यही बन्नुपर्छ । ’

धनुषा क्षेत्र नं ४ख का प्रदेशसभा सदस्य समेत रहेका नेता महतोले भने, ‘आज यहाँ ट्रमा सेन्टर बन्यो । भोली लालगढमा क्यान्सर हस्पिटल खोलौ न ⁄ हर्ट हस्पिटल खोल्न सकिन्छ । यसमा षडयन्त्र किन ? यसलाई विवादित विषय नबनाऔं ।’

नापी–मालपोतका लागि पहल गर्छु

ढल्केवरमा स्थापना भएको नापी र मालपोत कार्यालय संचालनका लागि पहल गर्ने नेता महतोले प्रतिबद्धता जनाए ।

सम्बोधनका क्रममा उनले नापी संचालनका लागि काठमाडौं पुगेर ‘डिजी’सँग आग्रह गरेको सुनाए । ढल्केवरको नापी संचालनमा संविधानमा भएको व्यवस्थाले समस्या भएको उनको भनाइ थियो ।

‘हरेक स्थानीयतहमा नापी र मालपोत संचालन गर्ने भनेर संविधानमा व्यवस्था छ । त्यसकारण पाँचवटा पालिकालाई कार्यक्षेत्र बनाई यहाँ स्थापना गरिएको कार्यालय संचालमा कठिनाई भइरहेको छ,’ महतोले भने ‘स्थापना भइसकेकोले संचालनका लागि पुनः गठबन्धन सरकारमा पहल गर्छु ।’

सौन्दर्यकरणका लागि बजेट छुट्याउँछु

प्रदेश २ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत रहेका महतोले मिथिला नगरपालिकाको सौन्दर्यकरणको लागि बजेट विनियोजन गर्ने विश्वास दिलाए । भेलालाई सम्बोधन गर्ने क्रममा उनले नगरको सौन्दर्यकरणका लागि योजना बनाउन सबैमा आग्रह गरे ।

उनले यस क्षेत्रमा सम्भावना भएको उद्योग स्थापनाका लागि पनि योजना बनाउन आह्वान गरे । ‘कुन उद्योगको सम्भावना छ । त्यसको योजना बनाउनुस् । जग्गा व्यवस्थापन गर्नुस् । बजेट र सारा व्यवस्थापनको जिम्मा प्रदेश सरकारले लिन्छ । हामी गर्छौ,’ मन्त्री महतोले भने ।

वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ

वास्तविक नेपाली नागरिकले वंशजको आधारमा नागरिकता पाउनुपर्ने उनले उल्लेख गरे । कार्यक्रममा बोल्दै महतोले एमालेको अवरोधका कारण नागरिकता विधेयक पास हुननसकेको जिकिर गरे ।

‘जसको २०–२५ वर्षदेखि घर छ । लालपूर्जा छ । त्यस्ता व्यक्तिलाई सहज ढंगले नागरिकता दिनुपर्छ,’ उनले भने । नेकपाको दुईतिहाईको सरकार भएको बेला आफूहरुले नागरिकताको आवाज उठाउँदा केपी ओलीले नमानेको उनले दावी गरे ।

‘दुईतिहाई भएको बेला सुनेन । सत्ता संकटमा परेको बेला मधेसवादी दललाई फकाउन रातारात नागरिकता अध्यादेश ल्याइयो । कानून बनाउन भन्दै सर्वोच्चले रोक्यो,’ महतोले भने ‘तर दुर्भाग्य ओलीले नागरिकता रोक्न फेरी संसद अवरुद्ध गर्ने षडयन्त्र गरिरहेको छ ।’ अब बल प्रयोग गरेर भएपनि संसद चलाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा विशिष्ठ अतिथी पार्टीका पोलिट ब्यूरो सदस्य एवं धनुषा जिल्ला इन्चार्ज सुधिर प्रसाद साह, धनुषा सचिव सोमप्रसाद शर्मा, पार्टीकी नेतृ बबी महतो, मिथिला नगरपालिका–२ का वडाअध्यक्ष विहारी महतो, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राम कुमार महतोलगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । साभारः द पब्लिक टुडे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय