काठमाडौं— काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन गर्ने विषयमा छलफल भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायातलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने कि केही दिन पर्खने भन्नेमा छलफल भएको तर टुंगो भने नलागेको बताए ।

‘निषेधाज्ञाको मोडालिटीलाई परिमार्जन गर्ने भन्ने विषयमा छलफल भयो, सार्वजनिक सवारीलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने भन्ने विषय पनि उठेका छन्, तर टुंगो लागेको छैन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले राजधानीसँग भने ।

निषेधाज्ञाको मोडालिटीलाई अब कसरी अघि बढाउने भन्ने विषय थप छलफलपछि सोमबार बस्ने बैठकले टुंगो लगाउने उनले जानकारी दिए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सार्वजनिक सवारी साधनलाई सीमा तोकेर सञ्चालन गर्न दिने विषयमा छलफल भएको जानकारी दिए ।

उनका अनुसार यसरी सीमा तोक्दा साना सवारी साधनभन्दा ठूला र दूरी कायम हुन सक्ने सवारी साधन सञ्चालन हुन सक्नेछन् । तर, सो विषय छलफल पछि मात्रै टुंगो लाग्ने उनले जनाएका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय