वीरगञ्ज— भारतका विभिन्न सहरबाट वीरगञ्ज नाका भएर नेपाल प्रवेश गर्ने नेपालीलाई एन्टिजेन किट अभावमा कोरोना परीक्षण गर्न सकिएको छैन् ।

वीरगञ्ज महानगरपालिकाले वीरगञ्जको मुख्या नाकामा रहेको शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा नेपाल प्रवेश गर्ने नेपालीहरुलाई एन्टिजेन जाँच गरी रिर्पोट आएपछि मात्र प्रवेश गर्न दिईन्थ्यो तर केही दिनदेखि एन्टिजेन किटको अभाव भएपछि नेपाल प्रवेश गर्ने मानिसलाई कोरोना परीक्षण गर्ने कार्य रोकिएको हो ।

शङ्कराचार्य गेट नजिक स्थापना गरिएको हेल्थ डेस्कका ईन्चार्ज डा.सैनुला अंसारीका अनुसार बिगत एक सातादेखि एन्टिजेन किटको अभावमा एन्टिजेन जाँच नगरी तापक्रम नापेर नाम ठेगाना र सम्पर्क नम्बर लिएर नेपालीहरुलाई नेपाल प्रवेश गर्न दिइने गरेको छ ।

महानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालयमा एन्टिजेन किट सकिएको जानकारी दिँदै माग गर्दा पनि आजभोलि भन्दै एक हप्ता बितिसक्दा पनि एन्टिजेन किट उपलब्ध नभएपछि भारतबाट आउनेलाई जाँच नै नगरी पठाउनु परेको हेल्थ डेस्कका इन्चाज डा. अंसारीले बताउनुभयो ।

अहिले दोश्र्रो चरणको कोरोना संक्रमण तीव्रगतिमा बढिरहेको अवस्थामा भारतबाट नेपाल प्रवेश गर्ने नेपालीहरुको किटको अभावमा एन्टिजेन परिक्षण हुन नसक्दा स्थिति भयावह हुन सक्ने बिज्ञहरुको अनुमान छ ।

सीमावर्ती सहर रक्सौलमा गई अत्यावश्यक औषधि , तरकारी र आद्यान्न ढुवानी तथा खरिद गरेर ल्याउने नेपाली बाहेक भारतका  विभिन्न सहरबाट यो नाका भएर सरदरमा दैनिक २५ जनाभन्दा बढी नेपालीहरु भित्रिने गरेका छन् ।

एन्टिजेन किटको अभावमा कोरोना परीक्षण हुन नसकेकाले अहिले सामान्य ज्वरो मात्र नाप्ने गरिन्छ र कोरोनाको लक्षण देखिएमा व्यक्ति भए जुन जिल्लाको बासिन्दा हुन् त्यही जिल्लामा जाँच तथा उपचारको लागि पठाउने गरेको हेल्थ डेस्कका इन्चार्ज अन्सारीले बताउनुभयो ।

वीरगञ्ज महानगरपालिका नगरप्रमुख बिजय सरावगीले भन्सार क्षेत्रमा स्थापना गरिएको हेल्थ डेस्कमा एन्टिजेन किटको अभाव रहेको स्वीकार गर्दै जिल्ला जनस्वास्थ्य कार्यालयबाट माग अनुसार समयमा एन्टिजेन किट उपलब्ध नहुँदा समस्या देखिएको बताउनुभयो ।

सङ्घीय तथा प्रदेश सरकार र जनस्वास्थ्य कार्यालय कतैबाट पनि एन्टिजेन किट उपलब्ध हुन नसकेकाले किट अभावमा नाकामा एन्टिजेन परीक्षण रोकिएको नगरप्रमुख सरावगीले दाबी गर्नुभयो ।

भारतबाट अहिले दैनिक १० देखि १५ वटा पिकअप गाडीमा हरियो तरकारी र फलफूल आउने गरेको भए पनि त्यस गाडीका चालक एवं सहचालनहरुको एन्टिजेन किट अभावमा कोरोना परीक्षण हुन सकेको छैन । पिसिआर रिर्पोट हित आएका भारतीयबाहेक अन्य भारतीय नागरिकलाई यो नाकाबाट प्रवेश गर्न दिइएको छैन ।

पर्सा जिल्लामा कोरोना सङ्क्रमितहरुको सङ्ख्या दिनप्रतिदिन घट्ने क्रममा छ । बैशाखमा उत्कर्षमा पुगेको कोरोना सङ्क्रमण दर जेठको पहिलो सातादेखि घट्दै गइरहेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरी लकडाउनमा कडा गरेपछि कोरोना सङ्क्रमितहरुको सङ्ख्या दिनप्रतिदिन घट्दै गएको हो ।

नारायणी अस्पतालको प्रयोगशालामा सोमबार गरिएका १९२ वटा स्वाबको परीक्षणमा ४१ जनामा सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशनदास काअनुसार सोमबारसम्म पर्साका २४ ,बाराका १०, सर्लाहीमा ४, रौतहटमा १ र महोत्तरीका १ जना गरी ४१ ज्नामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । थपिएका सङ्क्रमितहरुमा १४ देखि ८५ वर्ष उमेर समूहका छन् ।

साभार : गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय