जनकपुरधाम- तिहार र छर्ठ पर्वपछि मिथिलाञ्चलसहित तराई मधेशमा सामाचकेवा पर्वको रौनकता छाएको छ । भाइ–बहिनीबीचको अगाध प्रेमलाई दर्शाउने पर्वको रूपमा मनाइने सामाचकेवा पर्व सहरी क्षेत्रमा लोप हुन थाले पनि ग्रामीण क्षेत्रमा अझै रौनकता बाँकी छ । विगतमा हर्षोल्लास पूर्वक मनाइने यो पर्व वर्तमान समयमा सहरी क्षेत्रमा विधि पुर्‍याउन मात्र मनाउने गरिन्छ ।

‘गामके अधिकारी हमर बरकाभइया हो, सामचको सामचको अइहाहो अइहाहो’जस्ता प्रसिद्घ गीतले सामा खेल्नेदेखि सामाचकेवा खेल हेर्नेहरू पनि रोमाञ्चित हुने गर्छन् । अहिले तराईका अधिकांश गाउँमा र केही सहरमा साँझ पर्नेबित्तिकै बालिका, किशोरी, युवती र महिलाहरू समूह–समूहमा बसेर यस्ता गीत गाउँदै सामा खेल्न व्यस्त हुने गरेको भेटिन्छ ।

छठको खरनाको दिन कात्तिक शुक्लपञ्चमीदेखि सुरु हुने सामाचकेवा र पूर्णिमाको दिन बिसर्जन हुँदै छ । १० दिनसम्म चल्ने र पूर्णिमाको ११औँ दिन माटोको विभिन्न प्रतीकलाई भाइको हातबाट फुटाई खनिएको खेत वा वनमा राखी बिसर्जन गरिने सामा भाइको दीर्घायु र स्वस्थको कामना गर्दै मनाइन्छ ।

सामा, चकेवा, चुगलाको माटोको विभिन्न प्रतिमा बनाई एवं बजारबाट किनेर बाँसको डालामा राखी साँझको समयमा गाउँका बालिका, युवती र महिलाले विभिन्न गीत गाउने र भाइको दीर्घायुको कामना गर्ने चलन छ । सामामा ‘आगे डिहुली सामा जाइछइ सासुर, किछु गहना चाही गे डिहुली’ लगायतका मैथली गीत प्रचलित छन् ।

सामाचकेवाको विशेष पात्रका रूपमा रहेको चुगलाको मुखमा १० दिनसम्म निरन्तर कालो पोत्ने गरिन्छ । वर्तमान समयमा हाम्रो समाजमा चुगला अर्थात् कुरा लगाउने धेरै रहेको र यस्तोलाई उजागर गरी समाजलाई स्वच्छ बनाउनुको साथै भाइबहिनीबीच निरन्तर मायाप्रेम रहिरहोस् भन्ने अभिप्रायले धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीलगायत भारतको बिहारमा समेत मैथिली, भोजपुरी र थारु समुदायले भव्य रूपमा सामाचकेवा मनाउने गर्छन् ।

सामाचकेवा पर्वको इतिहास

सामाचकेवाको पौराणिक किंवदन्ती विभिन्न ऐतिहासिक ग्रन्थमा भिन्नभिन्न उल्लेख छ । सामाचकेवा पर्वको सुरुवात द्वापरयुगमा श्रीकृष्णको पालामा भएको मान्यता छ । भगवान् श्रीकृष्णका छोरी साम्बा र छोरा साम्बको कथामा आधारित रहेको सामाचकेवा पर्व अझै निरन्तर चल्दै छ ।

कृष्णकी छोरी साम्बालाई चुडक भन्ने व्यक्तिले मन पराएको, तर साम्बाको विवाह चारुवाक भन्ने व्यक्तिसँग भएकोमा त्यसको प्रतिशोध लिन चुडकले कृष्णसामु उसको छोरीको चरित्र ठीक नभएको भनी कुरा लगाएको र कृष्णले पनि सत्यतथ्य पत्ता नलगाई रिसको झोँकमा छोरीलाई पक्षी बन्ने श्राप दिएका थिए ।

पछि ज्वाइँ चारुवाकले कृष्णलाई भेटी आफ्नी पत्नी निर्दोेष र स्वच्छ छविकी भएकी बताएको र आफू उनीविना बाँच्न नसक्ने भनी गुहार लगाएको र आफूलाई पनि पक्षी नै बनाइदिन आग्रह गर्दा कृष्णले उनलाई पनि पक्षी नै बनाइदिएका थिए । कुरा लगाउने चुडक (चुगला) लाई देश निकाला गरेका थिए ।

आफ्नी बहिनी साम्बा र ज्वाइँ चारुवाकको श्रापलाई निष्क्रिय गर्न साम्बले कार्तिक शुक्ल पञ्चमीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म ११ दिन गोपेश्वर महादेवको मन्दिरमा प्रत्येक साँझ नृत्य र पूजा गरी भगवान् भोलेनाथलाई खुसी पारेको र भगवान् खुसी भई साम्बा दम्पतीलाई पुनःमानव जीवन वरदान दिएको मान्यताका साथ यो पर्व मनाइँदै आइएको छ ।

साभारः टुडेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय