![](https://khabarbureau.com/wp-content/uploads/2020/11/tass2019-10-28-11-25-23.jpeg)
सर्लाही- सर्लाहीको बरथवाबाट ६ जना जुवाडेलाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ ।
बरथवा नगरपालिका–६ का शम्भु सिंहको घरमा जुवा खेल भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले सिंहसहित ६ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।
प्रसिद्ध गोरु व्यापारी सिंह, बरथवा नगरपालिका–६ का रामप्रमोद महतो, बरथवा नगरपालिका–५ का महमदहसन कवारी, बरथवा नगरपालिका–७ का गोविन्द साह (दिनेश), सोही ठाउँका रामानन्द दास र बरथवा नगरपालिका–१६ का मनोज राय मंगलवार साँझ पक्राउ परेका प्रहरी नायब उपरीक्षक भाटले बताए ।
जुवाको खालबाट पक्राउ परेका उनीहरूको साथबाट ६० हजार ९९५ नेपाली र भारु ५ हजार २०० बरामद भएको प्रहरी नायब उपरीक्षक भाटले बताए । गोरु व्यापारी सिंहले सर्लाहीदेखि झापासम्मका प्रहरीलाई मिलाएर गोरुको नाममा गाई निर्यात गर्ने गरेको समेत खुल्न आएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
सिंहले कात्तिक ५ गते ना६ख ७६३९ नम्बरको ट्रकमा १८ वटा गाई र १३ वटा गोरु लोड गरी बाहिर निर्यातका लागि पठाएका थिए तर सामाजिक अभियानकर्मीले थाहा पाएपछि ट्रक नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरीलाई बुझाएका थिए । प्रहरीले राजश्व कार्यालयमा बुझाएको बताएको छ । तराईको सबै प्रहरी अधिकृत इन्चार्जहरूसँग गोरु व्यापारी सिंहकोे राम्रो सम्बन्ध रहेकाले गोरु बजारमा संकलन केन्द्रको रूपमा ठेक्का लिने र गोरुको नाममा गाईको निर्यात गर्ने काम भइरहेको छ भने प्रहरी मौन देखिएको बताइएको छ । रासस