अष्ट्रेलिया जानुअघि सुजलको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली फुटबल टोली (यू-२३) ले स्वर्ण जित्दाका कप्तान सुजल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

आजनै मछिन्द्र क्लबका सहकर्मी रन्जित धिमालसँग अष्ट्रेलिया जाने तयारीमा रहेका सुजलले सन्यासको लागि सहि समय आएको बताएका छन् । ‘हरेक खेलाडीको एउटा समय हुन्छ ।

आफ्नो समयमा खेल्ने र समय आएपछि विश्राम लिनु उपयुक्त हुन्छ,’ सुजलले हाम्रो खेलकुदसँग भने,‘अब म भन्दा राष्ट्रिय टोलीबाट खेल्ने नयाँ पुस्ताका भाईहरु आइसकेका छन् । उनीहरुका लागि पनि मैले ठाँउ छाड्नु उपयुक्त हुन्छ भन्ने लाग्छ ।’

अष्ट्रेलियामा बेनी एफसीबाट खेल्ने जाने तयारीमा रहेका सुजलले फर्केर स्वदेशमा क्लब फुटबललाई निरन्तरता दिने सम्भावना पनि रहेको बताए । ‘परिवारको यादले उता बस्ने अवस्था भएन भने फर्केर आउँछु,’ गत वर्ष फागुनमा छोरीका बाबु बनेका सुजलले भने,‘त्यो सबै परिस्थितिमा भर पर्छ ।’

अष्ट्रेलिया जाने तय भएपछि औपचारिक रुपमा राष्ट्रिय टोलीबाटै मैदानबाट सन्यास लिने सुझाव आएपनि आफूलाई त्यसरी घोषणा गर्न उपयुक्त नलागेको उनले बताए । ‘व्यक्तिगत रुपमा मैदानबाटै सन्यास घोषणा गर्नुपर्छ भन्ने लागेन। यो मेरो व्यक्तिगत रुची हो । अन्तर्राष्ट्रिय खेलाडीहरुले पनि त्यो अभ्यास गर्छन्,’ उनले भने,‘ सबैले मैदानबाट सन्यासको घोषणा गर्नुपर्छ भन्ने जरुरी छैन ।’

उनले आफ्नो खेल जीवनबाट भने सन्तुष्ट रहेको बताए । ‘मैले राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाए । जति गर्न सफलता प्राप्त गरे । त्यसमा सन्तुष्ट छु,’ उनले थपे,‘ व्यवासयिक रुपमा देश बाहिर खेल्ने अवसर पाएन भन्ने मात्र रह्यो ।

बाँकी मलाई केहि गुनासो छैन । ’ राष्ट्रिय टोलीबाट उनले ३७ खेलमा ३ गोल गरेका थिए । एन्फा एकेडेमीका उत्पादन सुजलले सन् २०११ मा भुटानविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय