मर्स्याङ्दीमा हराएको तीन महिनापछि शव भेटियो

लमजुङ — मर्स्याङ्दी नदीमा खसेर हराइरहेका एक जना सशस्त्र प्रहरीका जवान तीन महिनापछि मृत भेटिएका छन् । गत पुस १५ गते मनाङ जाँदै गर्दा पिसाव फेर्ने क्रममा भीरबाट लडेर मर्स्याङ्दीमा खस्दा सशस्त्र प्रहरी जवान ३२ वर्षीय अनन्त महत मर्स्याङ्दीमा खसेका थिए ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेपछि नै महत हराइरहेका थिए । बेंसीसहरदेखि मनाङतर्फ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जिपमा सवार उनी पिसाव फेर्न बाहिर निस्किएर सडक छेउमा गएका थिए ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका ४, बिजुलीकोटका महत सशस्त्र प्रहरीको २२ नं. गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं. गुल्म हेडक्वार्टर मनाङको चामे जाँदै थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार राइनास नगरपालिका ६, धमिलीकुवाछेउ मर्स्याङ्दी नदीमा एउटा युवकको शव फेला परेपछि बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइएको थियो ।

आइतबार अपराह्नतिर फेला परेका उनको शव परिवारले सोमबार सनाखत गरेको उनले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय