धनुषा—

धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका ५० वर्षीय रामजीवन महतोलाई विवाहको रथ देख्न हुँदैन।

दमका बिरामी रामजीवन गाउँमा बिहेको डिजे बज्दा र रथ कुदेको देख्दा मुर्छा पर्छन्। छिमेकी कसैले आफ्नो छोराको विवाहमा जन्ती जार्नुपर्छ भनेर निम्ता गर्दा उनको मन छियाछिया हुन्छ।

२०७६ पौष २५ मा खोलाको अवैध उत्खन्न रोक्न गएका उनका छोरा चुरे तथा पर्यावरण अभियन्ता दिलिप (ओमप्रकाश) महतोको क्रसर डनले हत्या गरेका थिए। दिलिपलाई कोखमा फलामको लिभर प्रहार गरी घाइते बनाएर टिपरले किचेर निर्मम हत्या गरिएको थियो।

पर्यावरण जोगाउने अभियानमा लागेका निहत्था जवान छोरोलाई क्रसर डनले निमर्म हत्या गरिदिएपछि तीनवर्षदेखि उनी विक्षिप्त छन्। पापीहरुले खोसेको बेहुला बन्ने छोरोको यादले उनको मन भतभत पोलिरहन्छ।

‘दिलिप बिहे गर्ने उमेरका भइसकेका थिए। छोरालाई बेहुला बनाएर उसको बुबा बनेर डिलडालमा जन्ती जाने मन थियो। छोराको बिहेबारी गर्थे। घरमा लक्ष्मीरुपि बुहारी आउँथ्यो। उमंगमा हुन्थे। सबै घरपरिवारमा खुशी हुन्थ्यो,’ भावुक हुँदै रामजीवन भन्छन् ‘सब चौपट पारिदियो। (दोसरके बेटाके वियाहमे डिजे बजैत देखैई छिय त हमर बेटाके याद अबैय, करेजा फटैत रहैय)।’

नेपालमा पीडित पक्षले गत्तिलो कानुन र न्यायको अनुभूति गर्न नपाएको उनी तर्क गर्छन्।

ट्याक्टरमा डिजेलसक्दा पनि छोरो दिलिपको याद आउने गरेको रामजीवन बताउँछन्। ‘गाडीमा केही ब्रिग्रदा फोन गर्ने बित्तिक्कै छोरा घरमा भएको बेला कुदेर आउँथ्यो। खाँचोको बेला दुई/चारजनालाई लिएर पनि आउँथ्यो। बुबाको औषधि छ कि सक्यो भनेर दिलिपले बराबर चेक गरिरहन्थ्यो,’ गहँभरी आँशु पाँदै रामजीवनले भन्छन् ‘अहिले उठ्ने हिम्मत हुँदैन। यो भन्दा राम्रो मै मरेको भए हुन्थ्यो जस्तो लागिरहन्छ।’

क्रसरवालाहरुले अहिले औरही खोला झन् तहसनहस बनाईदिएको उनी सुनाउँछन्। ‘क्रसर गुण्डाहरुले बनाएको खाल्डोमा सयौं ट्याक्टर पस्दा पनि खोलाको डिलबाट देखिँदैन। त्यति खाल्डो खनेर खोलालाई बर्बाद गरेको छ। कोही अवरोध गर्न खोज्दा दिलिपजस्तै सकाईदिने भनेर उनीहरुले धम्की दिन्छन्। सक्यो त दिलिप कसले के गर्‍यो ? कहाँ के भयो ? पैसा छ भने सबथोक गर्न पाईन्छ भनेर फुर्ति लाउँछन्,’ चिन्तित हुँदै रामजीवनले भने।

नेपालमा पीडित पक्षले गत्तिलो कानुन र न्यायको अनुभूति गर्न नपाएको उनी तर्क गर्छन्। ‘यही नेपालको ठाउँमा साउदी अरब, दुबई भएको भए दिलिपलाई मार्ने सातैजनालाई फाँसीको सजाय भइसकेको हुन्थ्यो। कुनै सोर्स फोर्स चल्ने थिएन त्यहाँ। नेपालै यस्तो देश हो जहाँ अर्कैको ईसारामा कानुन चल्छ। यहाँको कानुनको कुनै भर छैन,’ रामजीवन भन्छन् ‘बेस नै नभएपछि अलिबेर पनि टिक्न सक्दैन भन्छ नि त्यही हो यहाँको कानुन भनेको।’

‘न्याय पाउन कानुनलाई डोनर चाहिन्छ भने भनोस्, आजबाटै भिख माग्न घरबाट निस्कन्छु। १०–५ रुपैयाँ गरी उठेको पैसा कानुनलाई बुझाउँछु। तर हामीले निष्पक्ष ढंगले न्याय पाउनुपर्छ। अदालतले हामीलाई सही न्याय दिनुपर्छ।’ उनले भने, ‘सही न्याय नपाएसम्म संघर्ष जारी राख्ने रामजीवन बताउँछन्। पैसामा बिक्ने मान्छे होइनौं। साँस रहेसम्म छोरोको न्यायका लागि लडिरहनेछु।’

दिलिपलाई ईन्जिनियर पढउन कृषि विकास बैंकबाट लिएको १० लाख रुपैयाँ ऋणले अहिले जग्गालाई लिलामीमा चढाएको रामजीवन बताउँछन्। ‘बैंकबाटै पैसा निकालेर भएपनि ईन्जिनियर पढ्छु। कमाएर यो पैसा सिद्धयाउँछु भनेर ऋण लिएको थियो,’ दुखेसो पोख्दै रामजीवन भन्छन् ‘ऋण पनि छँदैछ। धित्तोवाला जग्गा पनि लिलामीमा चढाइयो। तर, ईन्जिनियर बनेर पैसा कमाउने छोरो यो दुनियामा छैन।’ रामजीवनको घरमा दुई जना बृद्ध बाआमा, श्रीमती, तीन छोरी र एउटा कान्छो छोरा छन्।

जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदालत जाने तयारीमा

उनका जेठा छोरा दिलिपको हत्या मुद्दामा जिल्ला अदालत धनुषाले तीनजनालाई कैद सजाय सुनाएको छ। गएको फागुन १२ गते धनुषा जिल्ला अदालतका न्यायाधीश चित्रवहादुर गुरुङको एकल इजलासले घटनाको मुख्य दोषी ठहर भएका क्रसर सञ्चालक विपिन महतो र टिपर चालक मुनिन्द्र महतोलाई २५–२५ वर्ष कैद र उनीहरुबाट जनही ५ लाख रुपैयाँ पीडित परिवारलाई क्षतिपूर्ति भराउने फैसला गरेको हो।

घटनामा मतियार भनेर ठहरिएका लोडर चालक जितेन्द्र महतोलाई भने १२ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ पीडित परिवारलाई क्षतिपूर्ति बापत दिलाउने पनि निर्णय भएको छ। क्षतिपूर्ति रकम प्रतिवादीहरुको जायजेथाबाट असुल उपर नभएमा पीडित राहत कोषबाट पीडित परिवारलाई क्षतिपूर्ति रकम भराउने जिल्ला अदालतको निर्णय भएको हो। यद्यपि दिलिपका परिवार उक्त फैसलाबाट सन्तुष्ट छैनन्। उनीहरु जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदालत जाने तयारीमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय