एनआईसी एसिया बैंकको शाखा कार्यालय प्रमुखमाथि सांघातिक आक्रमण

काठमाडौं । एनआईसी एसिया बैंकको शाखा कार्यालयका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि सांघातिक आक्रमण भएको छ। आज (चैत्र २ गते )गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित बैंकको शाखा कार्यालयका कर्मचारी नियोजित रुपमा गरिएको सांघातिक आक्रमणमा परि गंभिर भएका छन् । उक्त घटनाको सिबिफिनले घोर भ्रत्सना गरेको छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र यसका कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्यहरु भएकोप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।

सिबिफिनले निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न समेत गृह मन्त्रालय गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसंग माग गरेको छ ।

बिज्ञप्तिमा भनिएको छ,’वार्ता तथा संवादको माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउनका लागि नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, मातहतका सुरक्षा निकाय र सम्बन्धित सबैमा बारम्बार अपिल गरिरहेकै बखतमा बैंकका कर्मचारी माथि गरिएका यस्ता निर्मम एवं हिंस्रक घटनाले नेपाल सरकारको शान्ति सुरक्षाको व्यवस्थाको खिल्ली उडाएको र समग्र अर्थव्यवस्थामाथि नै प्रहार भएको अनुभूत भएको छ ।’

यसअघि पनि मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा धरपकड गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय