९५ औं ओस्कर अवार्ड : ‘नाटु नाटु’ उत्कृष्ट गीत…..

एस एस राजामौली निर्देशित तेलुगु फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ ले ९५ औं संस्करणको ओस्कर अवार्डमा ओरिजिनल सङको उपाधि पाएको छ ।

यसअघि ‘नाटु-नाटु’ गीतले गोल्डेन ग्लोबको ८०औं संस्करणमा ‘नाटु-नाटु’ गीतले ‘बेस्ट ओरिजिनलन संग मोसन पिक्चर’ को अवार्ड हात पारेको थियो ।

जुनियर एनटीआर र रामचरण अभिनय रहेको चलचित्रको यो गीत विश्वभर मन पराइएको थियो । चन्द्रबोशको शब्द रहेको तेलुगु भाषाको यस गीतको कम्पोज भने एमएम कीरवणीले गरेका हुन् । त्यस्तै यस गीतमा स्वर दिएका छन् राहुल सिपलीगन्ज र काल भैरवले ।

९५ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार अन्तर्गत विभिन्न विधामा विजेता घोषणा भइरहेको छ । सोमबार बिहान भएको ओस्कर अवार्ड समारोहमा एडवर्ड बर्गर निर्देशित ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ ले तीन विधाको अवार्ड आफ्नो पोल्टोमा पारेको छ ।

यो फिल्म यसपटकको ओस्करको उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म घोषणा गरिएको छ । यस फिल्मले उत्कृष्ट सिनेम्याटोग्राफी र बेस्ट ओरिजिनल स्कोरको अवार्ड समेत पाएको छ ।

फिल्मले विश्वयुद्धका बेला एक जर्मन युवा सैनिकको भोग्ने त्रासदीपूर्ण अनुभवलाई पर्दामा उतारेको छ । यो फिल्मले गत फेब्रअरीमा सम्पन्न बाफ्टा (ब्रिटिश एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्टस्) अवार्डको उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट गैरअंग्रेजी फिल्म, उत्कृष्ट सिनेम्याटोग्राफी लगायतका सात प्रमुख विधामा पुरस्कार पाएको थियो ।

यस्तै, उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’बाट के ह्ये क्वान र जेमी ली कर्टिसले उचालेका छन् ।

यस्तै, एनिमेटेड फिचर फिल्मका लागि ‘ग्विलेर्मो डेल ट्रोज पिनोसियो’ ले ओस्कर अवार्ड पाएको छ । डकुमेन्ट्री फिचरको अवार्ड ‘नाभल्नी’ र डकुमेन्ट्री सर्टको अवार्ड ‘द एलिफेन्ट विस्परर्स’ले पाएको छ ।हेयर एन्ड मेकअप स्टाइलिङको अवार्ड ‘द ह्वेल’ ले पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय