स्पेनसँग नेपालकाे सम्मानजनक हार, दीपक मनाङले पनि खेले

स्पेनको कासेरेन्यो फुटबल क्लबविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा गण्डकी–११ पराजित भएको छ । बुधबार पोखरा रंगशालामा भएको खेलमा स्पेनिस क्लबविरुद्ध गण्डकी एघार ३–० गोल अन्तरले पराजित भएको हो । खेलमा स्पेनिस क्लबले पहिलो हाफमा २ र दोस्रो हाफको अन्तिमतिर १ गोल थप्यो । कासेरेन्योको जितमा कार्मेलो मोरा र मिगुएल एन्जल कारिलेरो गोन्जालेजले एक/एक गोल गरे ।

खेलमा गण्डकी–११ ले गोल गर्न नसके पनि स्पेनका पूर्वस्टार सम्मिलित कासेरेन्योलाई ३–० मा रोक्न भने सफल भयो । कासेरेन्योमा स्पेनिस राष्ट्रिय टिमका पूर्वखेलाडी रुबेन डे ला रेड र युलियो सालिनास पनि छन् । कासेरेन्योविरुद्ध गण्डकी–११ अनिल गुरुङको कप्तानीमा मैदान उत्रेको थियो । गण्डकीको टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ छन् ।

आजको खेलमा गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङले पनि खेले । उनी ४ नम्बर जर्सीका साथ दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । मनाङे मैदान प्रवेश गर्दा खेलाडी, कमेन्टेटर र दर्शक केहीबेर अचम्ममा परे । यद्यपि उनी मैदानमा खेल्न थालेपछि भने दर्शकले ताली बजाएर साथ दिएका थिए ।

‘शान्तिका लागि फुटबल’ भन्ने नाराका साथ लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा भइरहेको दोस्रो खेल काठमाडौंमा हुनेछ । दशरथ रंगशालामा बिहीबार हुने यो खेलमा कासेरेन्योले काठमाडौं–११ सँग खेल्ने तालिका छ । काठमाडौं टोलीको प्रशिक्षकमा मेघराज केसी हुनेछन् ।

टिममा काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीहरु समावेश छन् । कासेरेन्योसँगको खेल लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनस्थित नेपाली राजदूतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा आयोजना भइरहेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय