प्रधानमन्त्री दाहालको पहिलो प्रस्ताव नै गृहमन्त्री रवि लामिछानेले गरे अस्वीकार !

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पदवहाली गरेलगत्तै मन्त्रिपरिषद्को बैठक आव्हान गरेका थिए। आफ्ना मन्त्रालयमा पदवहाली गरेपछि तीन उपप्रधानमन्त्रीहरु विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने मन्त्रिपरिषद् बैठकमा भाग लिन प्रधानमन्त्री कार्यालय पुगे।

मन्त्रालयको जिम्मेवारी तोक्न बाँकी रहेका मन्त्रीहरु समेत मन्त्रिपरिषद्को बैठकमा सहभागी थिए । प्रधानमन्त्री भएपछि प्रचण्डले मन्त्रिपरिषद्को पहिलो बैठक बोलाएका हुन्।

बैठक सुरु भएपछि प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई तत्कालका लागि सरकारको प्रवक्ता बन्न भनेका थिए। अन्य मन्त्रीहरुले पनि प्रचण्डको प्रस्तावलाई सहजै स्वीकारे। तर गृहमन्त्री लामिछानेले सरकारको प्रवक्ता बन्ने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव अस्वीकार गरेको स्रोतले बताएको छ।

बैठकमा केही असहजता देखिएको थियो। प्रधानमन्त्री प्रचण्डले दिन लागेको जिम्मेवारी रविले स्वीकार गरेनन्।

‘प्रधानमन्त्रीज्यूले यो मैले गरेको निर्णय हो, सूचना र सञ्चार प्रविधिमन्त्री नियुक्त नभएसम्म तत्कालका लागि रविजीले सरकारको प्रवक्ता बनिदिनुहोस् भन्नु भएको थियो, तर गृहमन्त्रीज्यूले मान्नु भएन।’,बैठकमा सहभागी एक मन्त्रीले अन्नपूर्णलाई बताए।

‘प्रधानमन्त्रीज्यूले केही असहज मान्नु भयो’, उनले भने। केहीबेरको सवाल–जवाफपछि प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई सरकारको प्रवक्ताको जिम्मा दिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय