प्रचण्डलाई बधाई दिँदै भारतीय प्रधानमन्त्री मोदीले भने – मिलेर
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन् ।

आइतबार राति प्रचण्डलाई ट्वीटरमार्फत मोदीले बधाई दिएका हुन् । उनले प्रचण्डसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गरेका छन्। मोदीले भारत र नेपालबीच रहिआएको जनता–जनता बीचको सम्बन्धलाई पनि स्मरण गरेका छन् ।

‘नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । भारत र नेपालबीचको सम्बन्ध सांस्कृतिक र जनता–जनताबीचको न्यानो सम्बन्धमा आधारित छ।’, मोदीले भनेका छन् ‘यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु।’

एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा ‘प्रचण्ड’तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रचण्डलाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। उनको सोमबार ४ बजे शपथग्रहण तय गरिएको छ। अन्तत : ‘प्रचण्ड’ ४४ औं प्रधानमन्त्री भएका छन्।

२ सय ७५ रहेको प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ चाहिन्छ। प्रधानमन्त्री पाएको माओवादी केन्द्रको ३२ सिट छ। प्रधानमन्त्री बनेका प्रचण्डलाई एमालेको ७८, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र तीन जना स्वतन्त्र सांसदको समर्थन छ। संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय