फूटबल विश्वकपको फाइनलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गरेको दोस्रो गोललाई मान्यता दिन नहुने केही विश्लेषकहरूले बताएका छन् । नाटकीय फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच एक्स्ट्रा टाइममा ३–३ गोल बराबरी भएको थियो अनि पेनाल्टी शूटआउटमा अर्जेन्टिना ४–२ ले विजयी भएको थियो ।

एक्स्ट्रा टाइमको पहिलो हाफमा मेसीले गरेको गोलका विषयमा विवाद उठाइएको हो । खेलको १०८ मिनेटमा लाउटारो मार्टिनेजले गरेको प्रहारलाई फ्रान्सका गोलकीपर ह्युगो लोरिसले छेकेका थिए । तर उनको हातमा ठोकिएर मैदानमै रहेको बललाई मेसीले जालीभित्र छिराएका थिए ।

मेसीले गोल गर्नुअघि नै अर्जेन्टिनाका दुई सब्स्टिच्युट खेलाडीहरू मैदानमा प्रवेश गरेकाले उक्त गोललाई मान्यता दिन नहुने फ्रान्सेलीहरूको जिकिर छ । ‘यसको नियम एकदमै स्पष्ट छ, एउटा टीमका ११ जना खेलाडी मात्र मैदानमा रहन पाइन्छ,’ स्पेनी डिजिटल पत्रिका ओके दियारियोले लेख्यो ।

‘यस गोललाई अवैध घोषणा गर्नका लागि भारले कुनै हस्तक्षेप गरेन जबकि टीभी रिप्लेमा यो गोल स्कोरबोर्डमा चढाउनै मिल्दैनथियो,’ उसले थप्यो ।

नियमअनुसार खेल चलिरहेको बेलामा अतिरिक्त खेलाडी मैदानमा पसेमा खेल रोकेर खेलाडी पसेको ठाउँबाट विपक्षी खेलाडीलाई फ्रीकिक दिनुपर्ने हुन्छ ।ईएसपीएनका एक पत्रकारले पनि फूटबल कानून पालन गर्ने हो भने उक्त गोललाई मान्यता दिन हुँदैनथियो भने । तर भारले बोल्नका लागि यो महत्त्वहीन विषय भएको पनि उनले तर्क गरे ।

फ्रान्सेली पत्रिका लक्विपेले यसमा ध्यान नदिएको भन्दै रेफ्री सिज्मोन मार्सिनियाकलाई १० मा जम्मा २ अंक दिएको छ । तर फ्रान्सको यस दाबीलाई प्रतिकार गर्दै केही प्रशंसकहरूले ११७औं मिनेटमा एम्बाप्पेले गरेको गोल पनि अवैध रहेको जिकिर गरेका छन् । दायो उपामेकानोले बललाई हातले छोएपछि त्यो बल एम्बाप्पेको गोडामा पुगेको उनीहरू दाबी गर्छन् ।

एम्बाप्पेले बललाई शूट गर्दा अर्जेन्टिनाका गोन्जालो मोन्टिएलको हात तेर्सिएपछि उनलाई पहेंलो कार्ड देखाइएको थियो र फ्रान्सलाई पेनाल्टीबाट गोल हान्न दिइएको थियो । एम्बाप्पेले उक्त गोल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय