‘गोल्डेन बल’ मा पनि मेस्सी अगाडि, यस्तो छ अन्य स्टारको स्थान

कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपको फाइनलमा पुग्ने दुई टिमको टुंगो लागिसकेको छ । यसपटक अर्जेन्टिना र फ्रान्स विश्वकप फाइनलमा पुगे । अर्जेन्टिनाले क्रोएसियालाई ३–० तथा फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै फाइनलको यात्रा तय गरे ।

अब फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल प्रतिस्पर्धा आइतबार हुनेछ । तेस्रो स्थानका लागि हुने खेलअघि जारी विश्वकपमा ६२ म्याच सकिएका छन् । फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीले ‘गोल्डेन बुट’ अवार्ड प्राप्त गर्दै आएका छन् । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले ‘गोल्डेन बल’ पाउँछन् । यसपटक यी दुईवटै महत्वपूर्ण अवार्डमा अर्जेन्टिना र फ्रान्सका खेलाडीको दबदबा छ ।

फाइनलअघि गोल्डेन बुट दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अग्र स्थानमा छन् । उनलाई फ्रान्सेली स्टार केलियन एमबाप्पेले पछ्याइरहेका छन् । यी दुवै खेलाडीले ५/५ गोल गरेका छन् । यद्यपि असिस्ट गर्ने मामलामा भने मेस्सी शीर्ष स्थानमा छन् । फिफाको नियमअनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा सोभन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट संख्या गणना हुन्छ ।

असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउने नियम छ । हाल मेस्सीले ३ असिस्ट र एम्बाप्पेले २ असिस्ट गरेका छन् । मेस्सी सर्वाधिक असिस्टको सूचीमा पनि फ्रान्सका ग्रिजमनसँग बराबरीमा छन् । मेस्सी र ग्रिजमनले समान ३/३ असिस्ट गरेका छन् । मेस्सी जारी विश्वकपमा ५ गोल र ३ असिस्ट गर्दै गोल्डेन बुट र गोल्डेन बलको दौडमा सबैभन्दा अगाडि छन् ।

अन्तिम विश्वकप खेलिरहेका उनले समूह ‘सी’ को पहिलो खेलमा साउदी अरेबियाविरुद्ध पेनाल्टीमा गोलको खाता खोलेका थिए । समूहको दोस्रो खेलमा मेक्सिकोविरूद्ध मेसीले एक गोल गर्नुका साथै एक असिस्ट गरेका थिए । पोल्याण्डविरुद्ध भने उनले पेनाल्टी प्रहार गरे पनि गोल गर्न सकेनन् । अन्तिम १६ मा अस्ट्रेलियाविरुद्ध जित निकाल्दा मेस्सीले एक गोल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय