काभ्रेको बस दुर्घटना अपडेट : मृतकमध्ये १३ जनाको पहिचान खुल्यो

काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका–४ चलान गणेशस्थानमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। बनेपा नगरपालिका–११ सल्लेबाट बेथानचोक–५ च्याल्टीमा व्रतबन्ध कार्यमा पुगेर फर्किएको बा३ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार बस दुर्घटना हुँदा घटनास्थलमा १३ र अन्य ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा बस चालक ललितपुर महाकालका सन्तोष तिमलसिना, बनेपा नगरपालिका-१४ का रामकुमार तामाङ, बनेपा नगरपालिका-११ की निर्मला तामाङ, योगेश तामाङ, आंकुर तामाङ, उनकी श्रीमती हेमा तामाङ, पुष्कर तामाङ, कोपिला तामाङ, श्रेया तामाङ, मानडन देउपुर- १ की जेलि तामाङ, धुलिखेल नगरपालिका -११ का बुद्ध तामा, बेथानचोक- ५ की मन्जु तामाङ र बनेपा -१४ की गिता श्रेष्ठको शवको पहिचान भएको जिल्ला प्रहरी प्रमुख जोशीले जानकारी दिए। अन्य ४ जनाको पहिचान हुन सकेको छैन। उनीहरुको शव आफन्त आएपछि पहिचान हुने जोशीले बताए।

गम्भीर घाइते भइ पहिचान नखुलेका ३ वर्षको बालक र ५ वर्षका रेन्जेन तामाङलाई अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारको लागि रिफर गरिएको र १३ वर्षको योगेश तामाङको बालमैत्री अस्पताल उपचारको लागि पठाएको प्रहरीको भनाई छ। गम्भीर घाइते ५ जनाको काठमाडौंमा उपचार भइरहेको र सामान्य घाइते भएकाको धुलिखेल र बनेपा अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय