काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अवैध नागरिकता प्रयोग गरेको भन्दै गृह मन्त्रालयमा छानबिनको माग गर्दै निवेदन परेको छ। चितवन-२ बाट प्रतिनिधि सभामा निर्वाचित लामिछानेले अवैध नागरिकता प्रयोग गरेको भन्दै उनीमाथि छानबिन गरी कारबाहीको माग गर्दै शुक्रवार मन्त्रालयमा उजुरी दर्ता भएको हो। मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले मन्त्रालयको गुनासो शाखामा लामिछानेविरुद्ध छानबिनको माग गर्दै निवेदन आएको पुष्टि गरे।

‘उहाँको नागरिकताको विषयमा छानबिनको माग गर्दै निवेदन परेको छ। निवेदनको दाबी र प्रमाणका आधारमा मन्त्रालयले प्रक्रिया अगाडि बढाउँछ’ उनले उकेरासँग भने। लामिछानेको नागरिकताको विषयमा निर्वाचन आयोगमा समेत उजुरी परेको थियो। उजुरीमा उनीसँग नेपाली नागरिक नभएकाले उनको उम्मेदवारी खारेज गर्न माग गरिए पनि आयोगले छानबिन गर्न समय नपुगेको भन्दै निवेदनमा गरिएको दाबी हो या हैन भन्नेमा प्रवेशै नगरी टुङ्ग्याएको थियो।

उनले उम्मेदवारी दर्ताको बेलामा पेस गरेको नागरिकता पहिलो पटक उकेराले सार्वजनिक गरेको थियो। उनी अमेरिकी नागरिक रहेको पुष्टि भएसँगै उनले २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट निकालेको नागरिकता निष्क्रिय भए पनि उनले त्यही नागरिकता प्रयोग गर्दै राहदानी बनाउने, मतदाता सूचीमा नाम लेखाउने, आफू सभापति भएर पार्टी दर्ता गर्ने र उम्मेदवारी दिने काम गरेका थिए।

उनले अमेरिकी नागरिकको कानुनी हैसियत त्याग्न निवेदन दिए पनि निष्क्रिय भएको नेपाली नागरिकता पुन सक्रिय गराउन अपनाउनुपर्ने कानुनी प्रक्रिया नअपनाई पुरानै खारेज भएको नागरिकता प्रयोग गर्दै नेपाली नागरिक समान कानुनी हक प्रयोग गर्दै आएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय