सिंहदरबार गेटमै मोटरसाइकलले ठक्कर दिँदा शाखा अधिकृतको निधन

सिंहदरबार गेटमै मोटरसाइकलले ठक्कर दिँदा शाखा अधिकृतको निधन
शाखा अधिकृत पदमा कार्यरत राष्ट्रसेवक कर्मचारी आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट निधन भएको छ । सुब्बा परराष्ट्र मन्त्रालयमा कार्यरत थिइन् । सिंहदरबार पूर्वी गेट अघिल्तिर बाटो काट्दै गरेकी सुब्बालाई मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिएको परराष्ट मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले केटिएम दैनिकलाई बताइन्।

लम्सालका अनुसार कार्यालयको काम सकेर आफू बस्दै आएको अनामनगरतर्फ जान बाटो काट्दै गरेकी ती कर्मचारीलाई मोटरसाइकलले ठक्कर दिएको हो ।

तनहुँ घर भई काठमाडौंमा बस्ने २४ वर्षीय मिलन रानाले चलाएको प्रदेश३ ०३ ००८प३६१६ नम्बरको मोटरसाइकलले बिहीबार बेलुका ६ बजे तिर ठक्कर दिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

मोटरसाइकल ठक्करबाट गम्भिर घाइते सुब्बालाई तत्काल उपचारका लागि मोडल अस्पताल पुर्याइएको थियो। मोडल अस्पतालका चिकित्सकले उनलाई ६:४० मा मृत घोषित गरेका हुन् । ३४ वर्षीया मृतक सुब्बाका एक नाबालक छोरा रहेको जनाइएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल र चालक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।

झापाको मेचीनगर माइत भएकी सुब्बा २०६९ सालमा परराष्ट्र सेवामा प्रवेश गरेकी थिइन् । उनले यसअघि इजरायलस्थित नेपाली राजदूतावासमा सेवा गरेकी थिइन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र प्रसाद भट्टका अनुसार तीव्र गतिमा रहेको सवारीसाधनको कारण दुर्घटना भएको हो । उनले पैदलयात्रुलाई बाटो काट्दा होसियार हुन र चालकहरूलाई पनि तीव्र गतिमा सवारी नचलाउन अनुरोध गरेका छन् ।

मृतकका भाई प्रजव्ल आङ्दाम्बे लिम्बुले भाईटिकाको केही तस्बिरहरू शेयर गर्दै दिदीको हातको अन्तिम भाईटीका भन्दै सुब्बालाई श्रद्धान्जली दिएका छन् । मृतक पूर्वसञ्चारकर्मी समेत हुन् । उनले केही समयसम्म झापाको कञ्चनजंघा एफएममा काम गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय