सिरहा— निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवार निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा छन्।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा जुटेका उम्मेदवार आफ्नो पक्षमा नतिजा आउने भन्दै सक्रिय छन्।

मधेस आन्दोलनको पृष्ठभूमि र विद्यार्थी राजनीतिबा स्थापित भएका जसपाका युवा नेता सुरेश मण्डल प्रदेशसभामा सिरहा क्षेत्र नम्बर–४ (ख) बाट उम्मेदवार बनेका छन्। जनता समाजवादी पार्टी जसपाबाट उम्मेदवार बनेका नेता मण्डल चुनावी अभियानमा व्यस्त छन्।

यसअघि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका मण्डल यो पटक पनि जित निकाल्ने धाउन्नमा छन्। मधेस प्रदेश सरकारमा राज्यमन्त्रीसमेत बनेका मण्डल आफूले मन्त्री हुँदा र प्रदेशसभा सदस्यका रुपमा आफ्नो क्षेत्रमा गरेको विकास नै जितको आधार भएको बताउँछन्।

आफ्नो क्षेत्रमा प्रत्यक्ष विकासको अनुभूति गराउन र जनताको समस्या सदनमा आवाज बुलन्द बनाउन सक्ने क्षमता भएका कारण पनि आफूलाई जनताले मतदान गर्ने उनको विश्वास छ।

मधेसका जिल्लाहरुमा एमाले र जसपाबीच चुनावी तालमेल भएका कारण पनि आफू विजयी हुनेमा उनी ढुक्क देखिन्छन्। दुई नम्बर प्रदेशको नामाकरण मधेस प्रदेश गर्नमा नेतृत्वदायी भूमिका निर्वाह गरेका मण्डल राज्यमन्त्री हुँदा शिक्षा, स्वास्थ्य, सडक र सिँचाइमा उल्लेखनीय बिकास निर्माण गरेका र समाजिक तथा पारिवारिक स्तरमा जनतासँग घुलमिल भएका आफूजस्तो उम्मेदवार नभएका कारण  आफ्नो जित सुनिश्चित हुने उनको विश्वास छ।

यसअघि तत्कालीन राजपाबाट सोही निर्वाचन क्षेत्रबाट निर्वाचित मण्डल पार्टी विभाजनपछि जसपामा नै बसे। उनी मधेसको माग र मुद्दा उठान गर्ने र व्यवस्थापन गर्ने मुख्य पार्टी जसपा नै भएको भन्दै जसपाबाटै मधेसका माग सम्वोधन हुने बताउँछन्।

सामाजिक, आर्थिक र राजनीतिक रुपमा पछि परेको मधेस प्रदेशमा सक्षम, शिक्षित र राजनीति सुझबुझ भएका व्यक्तिलाई अगाडि बढाउनु पर्ने र त्यसका लागि युवा नेतृत्व आवश्यक रहेको उनको भनाइ छ। निर्वाचनपछि मधेस प्रदेशमा जसपा नेतृत्वमा सरकार गठन हुने र सो सरकारले मधेसमा विकासको लहर ल्याउने मण्डलले दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय