बुवालाई फोन गरेर ‘एउटा भाले पनि काट्नु, भात खानेगरी आउँछु’ भनेका युवक मृत भेटिएपछि

ताप्लेजुङ — ताप्लेजुङमा एक युवक मृत भेटिएका छन् । मिक्वाखोला गाउँपालिका–१ का २४ वर्षीय विनोद कार्की मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तेल्लावङ कन्स्ट्रक्सनमा एक्स्काभेटर चलाउने विनोद बुधबार दिउँसो दोभानबाट घर जाने भनेर हिँडेको कम्पनीका प्रबन्धक टंक खतिवडाले बताए । खतिवडाका अनुसार विनोदले बेलुका ६ बजे हान्द्रुङबाट बुवालाई फोन गरेर ‘एउटा भाले पनि काट्नु, भात खानेगरी आउँछु’ भनेका थिए ।

बेलुका अबेरसम्म पनि घर नआइपुगेपछि बुवाले छोरालाई फोन गरेका थिए । फोन नलागेपछि उनीहरू छोराको खोजीमा लागेका थिए ।उनीहरूले खोसार्ने भन्ने स्थानमा झोला भेटिएपछि अरु गाउँलेलाई खबर गरेका थिए । गाउँलेसमेत मिलेर खोजी गर्दा विनोदको शव त्यहाँबाट करिब डेढ समय मिटर तल भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार दोभान इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा छ । ‘प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ,’ कार्कीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय