दसैँमा ७० वर्षीय वृद्धको बालुवामै सङ्घर्ष

लेखनाथ, १६ असोज – उमेरले ७० वर्ष । सरकारले प्रदान गर्ने ज्येष्ठ नागरिक भत्ता खाने बेला हो । न नागरिकता छ । न परिवारका कुनै सदस्य नै छन् ।

जीवन बालुवामा सङ्घर्ष गर्दागर्दै नै बित्यो । आइतबार फूलपातीको दिन सबै नेपालीमा दसैँको चहलपहल सुरु भएको छ तर उहाँलाई न कुनै वर्ष दसैँ न त तिहार लागेको छ । बालुवा बोकेर बिहान–बेलुकाको गाँस जुटाउन कै लागि सङ्घर्ष गर्दै ठिक्क छ ।

टाउकोभरि नाम्लाको नील डाम । पाइतालामा चप्पल छैन, थोत्रा कपडा, कुप्री पर्दै, एक हातमा लौरो र अर्को हातले सिँढीको फलामे रेलिङको सहयता लिँदैै । न हातले नाम्लो समाउनु छ । आइतबार दसैँकै दिन पोखराको शान्तिघाटबाट ५० केजी बालुवा बोरामा बोक्दै डिलमा उतार्र्दै हुनुहुन्थ्यो लम्जुङ जिल्लाका ७० वर्षीय साइँला गुरुङ ।

सेतीनदीको शान्तिघाटबाट माथिल्लो डिलमा बालुवा उतार्न करिब एक किलोमिटर दूरी छ । त्यो पनि ठाडै उकालो सिँढी, अघि–अघि एक बालुवा बोक्ने युवाको सहायतामा बालुवा बोकेर उक्लदै गर्नुभएका गुरुङलाई देख्ने जो कोही व्यक्तिले जिब्रो काढ्दै हिँड्छ र भन्छ, ‘राज्य कहाँ छ ?’ आइतबार शान्तिघाटमा मृत्यु भएको व्यक्तिको दाहसंस्कारमा सहभागी हुन आएका मलामीहरुले भन्दै थिए जिउनकै लागि ७० वर्षे बुबाको यस्तो सङ्घर्ष ।

न उहाँको डेरा छ, न त कुनै घर, शान्तिघाट विकास समितिले मानिसको लास पोल्नका लागि राख्ने दाउराको छेउमा छ अझै पनि उहाँको बास । उहाँले भन्नुभयो, “बालुवा बोक्न थालेकै पाँच दशक भएको छ, कति समय घाटकै छेउको ढुङ्गामुनि बसेँ, पटक पटक सुतेका ठाँउमा राति झस्काउन भूत–प्रेत आउँथे तर मैले राति पनि अँगेनामा आगो राख्थेँ र आएका चिजलाई अगुल्टाले हिर्काउँथे र भाग्थ्यो ।” पइतालाले अहिलेसम्म चप्पल देखेकै छैन, लाउन पनि जान्नु हुन्न उहाँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय