साहित्यमा उत्तरआधुनिकता र राजनीतिमा समाजवाद अनि व्यक्तिगत स्वतन्त्रता असीमित विचार हुन्। यी विचारले सधैं नयाँपन जन्माउँछ र यथास्थितिको विरोध गर्छ। समाजवादको प्रगतिशीलता र पुँजीवादको वैयक्तिक स्वतन्त्रताको कुनै राजनीति बन्देज छैन। प्लेटोको आदर्श राजनीति, हेगेलकाे राजनीति भित्रको विश्व व्यापकता, रुसोको राजनीति स्वतन्त्रताको लागि स्टेटमेनसिप राजनीतिका असीमित आदर्श हुन्।

जसलाई साहित्यको उत्तरआधुनिकता र राजनीतिको स्वतन्त्रताले सधैंभरी पछ्याइ रहन्छ, तर अनुमान गर्न सक्दैन। सन १२१५ को म्याग्नाकार्टा तेस्रो पुस्ताको माग थियो। जस्ले सारा युरोपमा निरंकुश राजनीतिको अन्त्य गर्‍याे।

लुई सोह्रौंको अन्त्य निरंकुशताको मात्र अन्त्य थिएन, बेलायती प्रजातन्त्रको माग थियो जसलाई फ्रान्सका जनता राजनीतिक सपना ठान्दथे। त्यसपछि राजनीतिभित्र पुँजीवाद र‌ समाजवादका थुप्रै अभ्यास भइसकेक छन्।

१९३० भन्दा अगाडिकाे पुँजीवाद र त्यसपछि मार्क्सको समाजवादले राजनीति र अर्थनीतिका सबै विषयहरुलाई छोइसकेको छ। तर आर्थिक पुँजीवाद र समाजवादीय अर्थशास्त्र राजनीतिघेरामा मात्र समेटिएको छैन। जसले गर्दा अमेरिकाको पुँजीवादी अर्थतन्त्र, भारतको प्रजातन्त्रिक अर्थशास्त्र,चीनको समाजवाद, उत्तर कोरियाको साम्यवाद अझै प्रयोगको अवस्थामा छन्।

यी नीतिले राजनीति सन्तुष्टि दिन सकेका छैनन्। त्यसैले ताइवान, युक्रेनलाई केन्द्रविन्दु बनाएर विश्व राजनीति आफ्नो अर्थनीतिलाई स्थापित गर्न कम्मर कसेर लागेको छ। यसको चिन्ता विश्वका तेस्रो मुलुक र तेस्रो पुस्तालाई छ। जाे राजनीतिक परिवर्तनको सिद्धान्तलाई कसरी आत्मसात गर्ने भन्ने चुनौतीको सामना गरिरहेका छन्।

नेपालमा २००७ सालमा प्रजातन्त्र आउनुअघि नै विश्व राजनीतिभित्र अर्थशास्त्र र राज्य संचालनका नीति जन्मिसकेका थिए ।सात साल भन्दा अगाडि माक्सकाे समाजवाद , एडम स्मिथको पुँजीबाद र व्यापारका लागि उपनिवेशले नेपाललाई छोएन। विश्व साम्राज्यका शासकहरुलाई चाकरी गरी आफ्नो अस्तित्व जोगाउनमा शासकहरु लागे।

सात सालपछि महेन्द्रकालीन राष्ट्रबादले समाजवादी अर्थनीतिलाई त पछ्यायो तर यसको प्रतिफल सीमान्त वर्गसम्म पुग्न सकेन। बीपी कोइराला र राजा महेन्द्रको विचारको बेमेल यसैमा थियो। राजा महेन्द्रको समाजवादलाई बीपीले स्वीकार नगर्नु, बीपीको समाजवादी अर्थशास्त्रलाई महेन्द्रले राजनीतिक हस्तक्षेप मान्नु तत्कालीन राजनीतिक परिवर्तनकोलागि अभिसाप प्रमाणित भयो।जसलाई आजसम्म हामीले खेप्नुपरेको छ।

राजनीतिभित्र तेस्रो पुस्ताको कम उपस्थिति, सुधार विनाको नेतृत्वलाई स्वीकार गर्नुपर्ने बाध्यताले राजनीतिभित्र वितृष्णा पैदा भएको हाे। याे पुस्ता विश्वको परिवर्तनप्रति सचेत छ। प्रविधिमा पोख्त छ। तर राजनीतिक दल र पार्टीहरु अझैपनि राजनीतिक आदर्शको असीमित चिन्तनमा तल्लीन छन्। युवा पुस्ता नेतृत्व लिन तयार छ भन्ने कुरा नेताहरुले नबुझेका होलान् र? तर नेताहरू यो विषय स्वीकार गर्न तयार छैनन्।

२०४७ को परिवर्तनपछि नेपाल पूर्णरुपमा पुँजीवादी अर्थतन्त्रको हिमायती त बन्यो। तर याे अर्थनीतिले विकास र परिवर्तनलाई आत्मसाथ गर्न सकेन। माओवादी द्वन्द्वले समाजशास्त्रीय विभेद र सास्कृतिक परिवर्तन त ल्यायो तर दरो अर्थनीतिलाई टेक्न सकेन।

कहिले पुँजीवादी अर्थतन्त्रलाई स्वीकार गर्ने कहिले समाजवादी चिन्तन राख्ने दोहोरो चरित्रले पार्टीहरु स्पष्ट भएनन्। किनकि चीन र भारतको दुवै अर्थनीतिलाई स्वीकार गर्नु पर्ने बाध्यता शासन र सत्ता दुवैमा थियो। यद्यपि छँदैछ।

विश्वव्यापीकरण, उदारीकरण, निजीकरणले नेपालको अर्थनीतिलाई परिवर्तन गर्छ भन्ने ठूलो आशा थियो। तर यसैभित्र नेपाली राजनीति अल्मलियो। भाइबाद परिवारवाद, भ्रष्टाचार, राजनीतिक प्रभुत्वमा शासकहरु चुर्लुम्म डुबे। २०४७ सालपछि युवाहरूको हातमा राजनीतिक नेतृत्व आउने आशा थियाे तर आएन। तिनै पुराना नेतृत्वले राजनीति बर्चस्व कायमै राखे। परिवर्तित नेतृत्वले युवाहरूको चाहना समेट्न सकेनन्।

प्रत्यक्ष रुपमा राजनीतिभित्र ठूलाठूला भ्रष्टाचारहरु देखिए। यसैको ढाकछोप गर्न शासकहरु लागि राखे। दलाली तन्त्रले उच्च सत्ता र शासक सबैतिर टपक्कै ढाक्यो। ढाकी रहेको छ ।सुधार गर्ने बलियो नेतृत्व देखिएन। जति आए तिनीहरुलाई पनि कि त राजनीतिले कि त पद प्रतिष्ठा र दबाबले किच्यो। राजनीति स्वार्थ र सोच भन्दा नेतृत्व माथि आउन नसक्नाले तीस वर्षमा ठूलो आलोचना खेप्नु पर्‍याे।

आजको पुस्ता राजनीतिप्रति उदासीन देखिँदैछ। व्यक्तिगत स्वतन्त्रताको ओकालत गर्ने यो पुस्ता अन्याय सहन सक्दैन। देखेको कुरा प्रस्ट भन्छ। राजनीतिक दाउपेच मन पराउँदैन।जान्दैन। यो पुस्ता नतिजामा विश्वास गर्छ। धर्म र संस्कृति प्रति उदार छ। राजनीति र प्रशासन भित्रको भ्रष्टाचारको खुलेर बिरोध गर्छ। त्यसैले याे पुस्ता र पुरानो पुस्ताको बिचमा खाडल पैदा भएको छ।

राजनीतिभित्र तेस्रो पुस्ताको कम उपस्थिति, सुधार विनाको नेतृत्वलाई स्वीकार गर्नुपर्ने बाध्यताले राजनीतिभित्र वितृष्णा पैदा भएको हाे। याे पुस्ता विश्वको परिवर्तनप्रति सचेत छ। प्रविधिमा पोख्त छ। तर राजनीतिक दल र पार्टीहरु अझैपनि राजनीतिक आदर्शको असीमित चिन्तनमा तल्लीन छन्। युवा पुस्ता नेतृत्व लिन तयार छ भन्ने कुरा नेताहरुले नबुझेका होलान् र? तर नेताहरू यो विषय स्वीकार गर्न तयार छैनन्।

स्थानीय चुनावमा वालेन शाह र हर्क साम्वाङकाे जितले नेपाली स्थापित राजनीतिक दलमा भूकम्प ल्याएको छ। दलका नेताहरु भित्रभित्रै तर्सिएका छन्। यसको अर्थ युवा पुस्ताको विद्रोह होइन। परिवर्तनको बाहक युवा पुस्ताको धर्म-कर्म र मर्मलाई राजनीतिक दलले नचिन्नु नै हो। नेपालका धैर्यशील जनता र धानिएको अर्थतन्त्रलाई नेताले आजसम्म भजाएर खाए। बल्ल यो जनतालाई थाहा हुँदैछ।

यसकालागि राजनीति संस्कार नै परिवर्तन गर्नुपर्ने बाध्यता दलहरुमा देखिँदैछ। यससँगै कर्मचारीतन्त्रले पनि आफ्नो कार्यशैली परिवर्तन गर्नै पर्छ। यसलाई नजरअन्दाज गरेमा भोलि नेपाली राजनीति अन्योलमा नपर्ला भन्न सकिँदैन। स्वतन्त्र उम्मेदवार प्रतिको आकर्षण राजनीतिक प्रणालीकाे आक्रोश हाे।

किनकि विगत वर्षमा शासन गरेका अनुभवहरु उनीहरूसँग जस्ताको तस्तै छन। जसको नतिजा अर्थ राजनीतिले भोग्नु परेकै छ।यसैको विरोध अहिले नयाँ पुस्ताले गरेको छ। यही नयाँ पुस्ता हो जसले नेपालमा ठूला परिवर्तन गर्यो।।तर स्थापित राजनीतिलाई बढी विश्वास गर्दा यो पुस्ताले सधैभरी धोका पायाे। अब राजनीति प्रवृत्ति र सोचाइ परिवर्तन हुने हो या नयाँ राजनीतिक पद्धति स्थापना हुने यसको समाधान स्थापित राजनीति दलसँगै छ।

विश्व मञ्चमा नेपाली अर्थतन्त्र कमजोर नै होला तर दक्षिण एसियामा नेपालको पर्यटन, विद्युत र अन्य क्षेत्रहरु बलिया छन्। यद्यपि बेरोजगारी उच्च छ। युवा पुस्ता विदेश जान बाध्य छ। नेपालमा आय आर्जनका सम्भावना भैकन पनि खेर गएका छन्।

पुरानो नेतृत्वले नतिजामुखी काम देला भन्ने आशा किन युवा पुस्तालाई भएन? यो पुस्ता अब नेतृत्व परिवर्तन चाहन्छ। युवाहरूको चाहनालाई सम्बोधन गर्ने ,दल वा नेता अब नेतृत्वमा आउछन भन्ने हामी विश्वास गरौं ।यसैका लागि अहिलेको युवाले कम्मर कसेको छ। राजनीतिमा परिवर्तन बिस्तारि हुने विषय हो तर नेपालमा यो द्रुत गतिमा लम्किँदै छ। हामी सबै युगसापेक्ष परिवर्तनको प्रतिक्षामा छौं। डिसी नेपाल अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय