काठमाडौं: काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सहरका विभिन्न ठाउँमा डोजर चलाएका छन् । नक्सापास नगरी अवैध रूपमा बनाइएका भौतिक संरचनामा महानगर प्रमुख साहले आफैं उत्रिएर धमाधम डोजर चलाउन थालेका हुन्

काठमाडौं महानगर प्रमुख साह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी, महानगरीय प्रहरी टोली, स्थानीय प्रतिनिधिसहितको टोलीले बुधबार बिहानैदेखि सुन्धारास्थित काठमाडौं मल, खिचापोखरी र न्युरोड क्षेत्रको आरबी कम्प्लेक्स, न्युरोडको रञ्जना गल्ली क्षेत्र, दरबारमार्ग क्षेत्रलगायत ठाउँमा पुगेर मापदण्डविपरीत बनाइएका संरचनामा डोजर चलाएका छन् ।

अभियान चलाउनुभन्दा अघि प्रहरीले संचरना भत्काउनुपूर्व नै त्यहाँ रहेका मापदण्डविपरीतका पसल, टहरा खाली गराएको थियो । पछिल्लो समय काठमाडौं महानगरपालिकले आफ्नो क्षेत्रभित्र रहेका भवन तथा घरको नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य किसिमले संरचना भत्काइरहेको छ ।

गत सोमबार मात्र महानगरले काठमाडौं नयाँ बानेश्वर क्षेत्रका अन्डर ग्राउन्ड पार्किङमा सञ्चालन भएका पसल भत्काएको थियो । बुधबार दिनभर नै उसले अनधिकृत रूपमा बनाइएका संरचना भत्काएको हो ।

घरधनी र व्यापारीको अवरोधबीच संरचना भत्काउनेक्रममा प्रमुख साहसँगै नेपाल प्रहरी र महानगरीय प्रहरी टोली खटिएका थिए । महानगरपालिकाले नक्सा पासभन्दा बाहिर गएर घरधनीले बनाएका संरचना भत्काएको हो । यसअघि, महानगरले ३५ दिने सूचना दिँदासमेत अटेरी गरेपछि अहिले धमाधम भत्काउन थालेको छ ।

महागरपालिकाले बुधबार दिनभर काठमाडौं मल अगाडिको संरचना, खिचापोखरी र रञ्जना गल्लीका व्यापारिक मल, दरबारमार्गस्थित लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाएर मापदण्डविपरीत बनेका संरचनामाथि डोजर चलाइएको छ ।

प्रमुख साहले समयभित्र त्यस्ता संरचना हटाउन दिएको निर्देशन बेवास्ता गरी अटेर गर्नेविरुद्ध डोजर चलाउन बाध्य भएको बताउदै भत्काइएका संरचनाको क्षतिपूर्ति माग्ने व्यापारीलाई घरधनी दोषी भएकाले घरधनीसँग माग्नु भन्ने जवाफ दिदै हिडेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय