काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहरमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । धादिङको धुनिबेँशी नगरपालिका वडा नम्बर १ का राजनीतिक दलहरूले बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक्ने भन्दै आन्दोलन गर्ने घोषणा गरेकोप्रति टिप्पणी गर्दै मेयर साहले फोहरको थुप्राेमा कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिन आग्रह गर्नुभएको हो ।

धुनिबेँशी नगरपालिका वडानम्बर १ का कांग्रेस, माओवादी र एकीकृत नेकपा समाजवादीका वडा प्रमुखहरूले संयुक्त रूपमा ती दलका नगर समितिलाई लेखेको पत्रसहित फेसबुकमा स्टाटस लेख्दै साहले बञ्चरेडाँडामा फोहर फ्याँक्न आधिकारिक सम्झौताहरू भएको उल्लेख गर्नुभएको छ । उहाँले सिसडाेलमा पानीको मुहानमा फोहर फ्याँकेको र फोहर बोक्ने गाडीले बाख्रा मारेको समस्या समाधान हुनासाथ काठमाण्डौको फोहर उठाउन नदिन अर्को समस्या देखिएको बताउनु भएको छ ।

यस्तो छ बालेनले फेसबुकमा लेखेको स्टाटस
हामीले हिजो जानकारी गराएका थियौँ कि केहि अबरोध नभएमा आजबाट दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीहरुले बञ्चरे डाँडामा फोहोर लैजाने छन् । तर आज दुई स्थानमा अलग अलग कारणले सडक अवरुद्ध गरियो । यसैले आज ९० वटा फोहोरका गाडीहरु मात्र बञ्चरे डाँडा पुग्न पाए । आज दुई ठाउँमा सडक अवरुद्ध गर्नुका दुई कारणहरु थिए ।

१. कसैले फोहोर पानीको मुहानमा लगेर फ्यालिदियो भन्ने । यसमा दोषीलाई पत्ता लगाएर कारबाही पनि भइसक्यो ।
२. फोहोर बोक्ने गाडीले बाख्रा मारेको भन्ने । यसलाई पनि समाधान गर्यौँ । यी दुई अवरोध हटाउने बित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौँ ।

वास्तवमै त्यो कसरत हो भने त्यो बिडम्बनापुर्ण हुनेछ । बञ्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका छन् । भुमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुअब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ । यो झुक्याएर गरिएको पनि थिएन । यसका वैधानिक सम्झौताहरु छन् । ति सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो ।

सँगसँगै, हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरित एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ । राजनीति त्यस्तो हुदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय