बिहीबार दिउँसो २ बजे।​ अल्फाबिटा कम्प्लेक्स, नयाँ वानेश्वर। वक्ता : केपी शर्मा ओली, एमाले अध्यक्ष। सहभागी : विभिन्न विदेशी र नेपाली सञ्चारमाध्यमका पत्रकारका साथै एमाले विदेश र प्रचार विभागको टिम।

अरुबेला कार्यक्रममा ढिला पुग्ने छवि बनाएका ओली बिहीबार दिउँसो भनेकै समयमा कार्यक्रम स्थलमा पुगे। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सबै पत्रकारलाई स्वागत गरेपछि अध्यक्ष ओली बोल्न सुरु गरे।

देउवा सरकारले चुनावको मिति घोषणा गरेकामा सराहना गरेर मन्तव्य थालेका ओलीले जनार्दन शर्मालाई सत्ता गठबन्धनले अर्थमन्त्रीमा पुन:नियुक्ति गरेकोमा चर्को विरोध गरे। शर्माको कल डिटेल हेर्न रोकिए पनि सबै नागरिकको फोन सरकारले अनधिकृत रुपमा ट्यापिङ गरेको उनले बताए। आफ्नो बालकोट निवासअघि सुराक गर्न सरकारले चार जना गुप्तचर खटाएको दाबी पनि गरे।

वैदेशिक मुद्रा सञ्चितिमा भारी गिरावटसँगै अर्थतन्त्र ध्वस्त भए पनि सत्ता गठबन्धनले कानमा तेल हालिरहेको उनको भनाइ थियो। करिब ४० मिनेट मुलुकको समसामयिक राजनीतिक मामिलामा बोलेपछि ओली रोकिए र पत्रकारलाई जिज्ञासा राख्न समय दिए।

पत्रकार : के एजेन्डा लिएर चुनावमा लड्नुहुन्छ? पहिले नेकपाको दुईतिहाइ बहुमतको सरकार टिकाउन सक्नुभएन, जनताको आकांक्षा पनि पूरा गर्न सक्नुभएन…

ओली : हामीलाई एजेन्डा खोज्दै पर्दैन। त्यही समृद्ध नेपाल, सुखी नेपाली नै हो हाम्रो एजेन्डा। सामाजिक न्याय र समानतासहितको सबल नेपाल हाम्रो एजेन्डा हो।

पत्रकार : चुच्चे नक्सा चुनावी एजेन्डा हो कि?

ओली : हेर्नुस्, हाम्रो राष्ट्रियताको प्रश्न हो त्यो। हामी त्यसमा प्रस्ट छौं। नक्सा जारी गरेको कुनै सरकारविरुद्ध होइन। अन्तर्राष्ट्रिय कानुनअनुसार हाम्रो न्यायोचित हकको कुरा गरेका हौं। तथ्यमा आधारित भएरै सीमाका कुरा उठाएका हौं।​

पत्रकार : अमेरिकी सभामुखको ताइवान भ्रमण भयो, जुन चीनको अभिन्न अंग हो। यसले चीन र अमेरिकाबीचको सम्बन्धमा दरार ल्यायो। नेपालले कसरी लिने?

ओली : हामी एक चीन नीतिमा प्रतिबद्ध छौं। एउटा मात्रै चीन छ, अरु छैन। हाम्रो मान्यता के हो छिमेकीसँग वा जुनसुकै मुलुकसँग भित्र एउटा, बाहिर अर्को कुरा गर्नु हुँदैन। त्यसले सम्बन्धमा अविश्वास ल्याइदिन्छ। हामी छिमेकीका भर पर्दा मित्रको रुपमा रहनुपर्छ। तिब्बतबारे पनि हाम्रो नीति स्पष्ट छ। तिब्बत चीनको स्वशासित क्षेत्र हो। अन्य ठूला देशका अनेक स्वार्थमा नेपालमा हुन सक्छन्, तिब्बत मामिलालाई लिएर। त्यो उनीहरुको कुरा हो। हामीले हाम्रो स्वार्थ र हित हेरेर मात्रै काम गर्नुपर्छ। हाम्रो भूमि अरु कसैले हाम्रा छिमेकीविरुद्ध प्रयोग गर्न दिन हुँदैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय