• विनय यादव

सिरहा— सिरहाको इलाका प्रहरी कार्यालय लहान अगाडि महिलाको शवसहित प्रदर्शन भएको छ । ससुरा पक्षले हत्या गरेको भन्दै माइती पक्षले मृतक महिलाको शवसहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

धनगढीमाई नगरपालिका ६ स्थित सिमराका सुनिल महतोकी अन्दाजी २९ वर्षीया श्रीमती ज्ञानकुमारी महतो सोमबार राति पौने १२ बजेतिर आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । घटनाबारे जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले मंगलबार बिहान मृतकको शव पोष्टमार्टमका लागि धरान पठाएको थियो ।

धरानबाट पोष्टमार्टमपछि मृतक महिलाको शव माइती पक्षले ल्याएर प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । ज्ञानको मृत्यु घटना आत्महत्या नभई हत्या भएको माइती पक्षको आरोप छ ।

मृतक महिलाका श्रीमान् सुनिल कमजोर मनस्थितिका छन् । आठ वर्षअघि बिहे भएका उनीहरूको एक सन्तान छ । बिहे भएदेखि नै छोरीलाई ससुरा र देवरले विभिन्न किसिमको यातना दिँदै आएको र अहिले आएर हत्या नै गरिदिएको मृतककी आमा महेश्वरी महतोले बताइन् ।

‘मेरी छोरीलाई पटकपटक यातना दिँदै आएको थियो,’ उनी रुँदै भनिन्, ‘एक महिनाअघि पनि नराम्ररी कुटपिट गरेपछि त्यसयता माइतीमै बस्दै आएकी थिइन् । केही दिन पहिले फेरि आएर ससुराले लगे । त्यसको केही दिन नबित्दै मेरी छोरीलाई मारिदियो ।’

छोरीको शरीरको विभिन्न भागमा हिलो लागेको पनि देखिएकोले उनलाई घिसारेर हत्या गरेको हुनसक्ने र त्यसपछि फस्ने डरले झुण्ड्याइदिएको दावी महेश्वरीको छ । छोरीको हत्या नै भएको पटकपटक प्रहरीलाई बताए पनि प्रहरीले आफूहरूलाई वास्ता नगरेको र जाहेरी पनि नलिएपछि शव लिएर प्रदर्शन गरेको उनले सुनाइन् ।

यता, प्रहरीले शव झुण्डिएको अवस्थामा भेटिएका कारण अहिले जाहेरी नलिएको बताएको छ । शव पोष्टमार्टम भइसकेको र दुई/तीन दिनमा रिपोर्ट आएपछि त्यसको आधारमा अघि बढ्ने सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले बताए ।

‘आरोपकै भरमा जाहेरी लिन मिल्दैन,’ उनले भने, ‘पोष्टमार्टम रिपोर्टको प्रतिक्षामा छौं । रिपोर्टको आधारमा हामी आफैँ कानुनी प्रक्रिया अगाडि बढाइहाल्छौँ ।’

साभारः शिलापत्र डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय