काठमाडाैं— उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले लागूऔषध प्रयोग र अवैध ओसारपासार नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी क्षेत्र र समुदायस्तरको सामूहिक ऐक्यबद्धतासहित साझा संकल्पको खाँचो रहेको औंल्याएका छन् ।

अन्तर्राष्ट्रिय लागूऔषध दिवस २०२१ को अवसरमा शनिवार शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री पौडेलले नेपालको जनसांख्यिक लाभको रूपमा रहेको युवा समुदायलाई लागूऔषध नियन्त्रणको अभियानमा सरिक गराउन दिवसले प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न युवा शक्तिको परिचालन अपरिहार्य रहेको समेत बताए ।

मानव जीवन र सभ्यतामा नकारात्मक असर पर्‍याउने लागूऔषध उत्पादन, बिक्री, वितरण, प्रयोग र प्रभावलाई निस्तेज गर्न संयुक्त राष्ट्रसंघको महासभाबाट सन् १९८७ मा घोषणा भई जुन २६ अर्थात् आजकै दिन लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने गरिएको छ ।

यस वर्ष दिवसको नारा लागूऔषधरहित परिवार स्वस्थ जीवनको आधार रहेको छ ।

संयुक्त राष्ट्रसंघको लागूऔषध तथा अपराधसम्बन्धी कार्यालयबाट प्रकाशित विश्व लागूऔषध प्रतिवेदन २०२१ अनुसार प्रयोगकर्ताको संख्या बर्सेनि बढ्दो क्रममा रहेको देखाएको छ ।

नेपालमा लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ ले वार्षिक औसत वृद्धिदर ५ दशमलव ०६ प्रतिशत रहेको देखाएको छ । मुख्यतः प्रयोगकर्ता युवा, किशोर र किशोरीका संख्या बढ्दै जानु चिन्ताको विषयमा भएको भन्दै गृहमन्त्री पौडेलले लागूऔषध सामाजिक र आर्थिक विकासका लागि ठूलो चुनौतीको रूपमा खडा भएको उल्लेख गरे ।

‘राष्ट्र विकासमा समाहित हुने युवाका ठूलो हिस्सा साथीभाइको संगत, पारिवारिक समस्या र मनोसामाजिक समस्याका कारण दुव्र्यसनमा फसिरहेका छन्, यसले सामाजिक अपराध समेत बढाइरहेको छ,’ सन्देशमा गृहमन्त्रीले भने । उनले लागूऔषध दुरुपयोग तथा अवैध कारोबार नियन्त्रण गरी सभ्य समाज निर्माणमा उद्देश्यले गृह मन्त्रालयले यसको माग घटाउन संकटापन्न क्षेत्रमा सचेतनामूलक तथा क्षमता विकास र सामाजिक पुनएकीकरण सम्बन्धीका विशेष कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

आपूर्ति नियन्त्रण, जोखिम न्यूनीकरण, अनुसन्धान र विकास तथा सहकार्य र साझेदारीका क्षेत्रमा समयानुकूल नीति तथा कार्यक्रम, रणनीति र योजना तयार पारी कार्यान्वयन गरिएको समेत मन्त्री पौडेलले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय