विजय कुमार साह 
धनुषा— धनुषाको गणेशमान चारनाथ नगरपालिकाले २० बेडको आइसोलेन अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमित बिरामीको उपचारका लागि नगरपालिकाले अक्सिजिनलगायत सम्पूर्ण सुविधासहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो ।

गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर ७ पोर्ताहामा नगरपालिकाले यसै बर्ष निर्माण गरेको नयाँ भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याएका हुन् ।

अस्पताल सञ्चालनका लागि नगरपालिकाले एकजना एमबिबिएस डाक्टर, एकजना स्टाफ नर्स, दुईजना कार्यालय सहयोगी र एकजना नगर प्रहरी खटाएको नगरपालिकाका नगर प्रमुख रामबाबु यादवले बताए । उनले प्रदेश २ मै नमूना आइसोलेन अस्पताल सञ्चालनमा ल्याएको दाबी गर्दै आवश्यक परे एच एलगायतका थप जनशक्ति खटाउने पनि जनाए ।

नगर प्रमुख यादवले भने, अधिल्लो बर्ष ६ वटा क्वारेन्टाइन सञ्चालन गरेर कोरोना भाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रणको प्रयासमा महत्वपूर्ण भूमिका निर्भाह गरेका थियौं । यस पटक पनि मजबूतिका साथ भिडेका छौं ।

आइसोलेसन अस्पतालमा हाल १३ वटा अक्सिजिन सिलिण्डर तयारी अवस्थामा छ । बिरामीलाई निःशुल्क औषधी र खानपिनको समेत व्यवस्था गरेका छौं, नगर प्रमुख यादवले भने ।

दोस्रो चरणको कोरोना भाइरस तीब्र गतिमा बढिरहेकाले यसलाई मध्य नजर गर्दै थप आइसोलेसन अस्पताल र क्वारेन्टाइनको व्यवस्था गर्न लागिएको बताए ।

नगरपालिकाले समुदायस्तरमा समेत कोरोना परीक्षण शुरु गरेको छ । दुई दिनको अवधिमा ७६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक कोभिड अस्पताल जनकपुरमा पठाइएको स्वास्थ्य इन्चार्ज श्याम रायले जनाए । उनले अस्पतालमा हाल एकजना संक्रमित रहेको र पाँच जना संक्रमित होम आइसोलेसनमा रहेको बताए । होम आइसोलेसनमा रहेका संक्रमितलाई औषधोउपचारका लागि दिनहु चिकित्स पठाउने गरेको छ ।

यस अलावा संक्रमित बिरामीलाई ओसारपसारका लागि एक वटा एम्बुलेन्स तयारी अवस्था राखि राखेको र थप चार वटा एम्बुलेन्सलाई नियमित सम्पर्कमा राखेको स्वास्थ्य इन्चार्ज रायले जानकारी दिए ।

जिल्लाको प्रादेशिक कोभिड अस्पताल र रमदैयास्थित जानकी मेडिकल कलेजमा सञ्चालित कोभिड बिशेष अस्पतालमा भर्ना भएका संक्रमित बिरामीले अक्सिजिन, औषधी र बेड नपाइरहेको अवस्थामा नगरपालिकाले आफ्ना नगरबासीका लागि कोभिड बिशेष अस्पतालन सञ्चालन गरेर सराहनीय कार्य गरेको स्थानीय बासीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय