जनकपुरधाम- आइसोलेसन सेन्टरको बेथिति बाहिर ल्याउने एकजना सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिइएको छ। धनुषाको नगराईन नगरपालिका–५ गंगुलीस्थित आइसोलेसन सेन्टरमा भर्ना जनकपुरका एकजना सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिइएको हो।

पीसीआर रिपोर्ट पोजिटिभ आएपछि पछिल्लो ६ दिनदेखि आइसोलेसनमा रहेका सञ्चारकर्मी राकेश साहलाई नेपाली सेनाका केही जवानहरूले सफाइकर्मीमार्फत धम्की दिएका हुन्। सञ्चारकर्मी साहलाई धम्की दिइएको दृष्यसमेत बाहिरिएको छ।

आइसोलेसनका सफाइकर्मी राजा मेस्तरमार्फत आफूलाई धम्की दिइएको साहले बताए। आइसोलेसनभित्रको कुरा बाहिर ल्याए सेनाले मार्ने धम्की दिएको सफाइकर्मी मेस्तरले बताएको सञ्चारकर्मी साहले भनेका छन्। सफाइकर्मी मेस्तर सोमबार सरसफाइको लागि पुगेको बेल यस्तो बताएको उनले जानकारी दिएका छन्।

सञ्चारकर्मीलाई धम्की दिने सेनासँग स्पष्टीकरण सोध्न नेपाली सेनाका कर्नेललाई भनेको र दोषी ठहरिए कारबाही हुने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताएका छन्।

नगराईन नगरपालिकाको गंगुली आइसोलेसनको निगरानी नेपाली सेनाले गरिरहेको छ।

यसअघि सफाइकर्मीले संक्रमितहरूको तापक्रम जाँच्न पुगेको दृष्य बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो। र, आलोचनापछि प्रादेशिक अस्पतालले त्यहाँको चिकित्सक टोली परिवर्तन गरिसकेको छ।

यता सञ्चारकर्मीलाई दिइएको धम्कीविरुद्ध नेपाल पत्रकार महासंघ धनुषाले आपत्ति जनाएको छ। संक्रमितहुँदा समेत निडर भएर आइसोलेसनभित्र आफ्नो कर्तव्य पालना गर्ने क्रममा त्यहाँका अव्यवस्था, विकृति र कमजोरी उजागर गरेकै कारण धम्कीपूर्ण चेतावनीले पत्रकार साहलाई कोरोनाका साथै थप भय र त्रास उत्पत्र भएको महासंघले जनाएको छ।

महासंघले धम्कीजस्तो क्रियाकलाप तत्काल बन्द गरी आइसोलेसन र क्वारेन्टाइनहरूलाई तोकिएको मापदण्डअनुसार सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

साभारः आयोमेल/धैर्यकान्त दत्त

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय